Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं : रिलायन्स

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस/एएफपी

भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप एलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ ।

    रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ ।

    प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध गरेको आरोप लगाउनुभएको थियो । उहाँले सामाजिक सञ्जाल एक्समा स्टारलिङ्कलाई भारतमा ‘अवरुद्ध’ गरिएको दाबी गर्दै त्यसलाई भारतीय जनताविरुद्धको अपराधको संज्ञा दिनुभएको थियो । मस्कले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई व्यङ्ग्यात्मक रूपमा ‘प्रधानमन्त्री’ भन्दै टिप्पणीसमेत गर्नुभएको थियो ।

    स्टारलिङ्कले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिकको कक्षमा घुम्ने उपग्रहको माध्यमबाट दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने योजना बनाएको छ । यसको सम्भावित प्रवेशले भारतमा सेवा शुल्क र रेडियो स्पेक्ट्रम बाँडफाँटबारे बहस चर्किएको छ । मस्कको आरोपपछि भारतको सञ्चार मन्त्रालयले सबै दूरसञ्चार सेवाप्रदायकलाई निष्पक्ष र भेदभावरहित अनुमति प्रणाली लागू गरिएको जनाएको थियो ।

    रिलायन्सको डिजिटल शाखा जियो प्लेटफर्मले सन् २०२५ मार्चमा स्टारलिङ्कको सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको थियो । तर, जियोको स्याटेलाइट इन्टरनेट सेवाले नियामक स्वीकृति पाउन बाँकी छ भने स्टारलिङ्कले पनि भारतमा सेवा सुरु गरेको छैन । रिलायन्सले जियोसहित सबै सेवाप्रदायकले भारतीय कानून र नीतिको पालना गर्नुपर्ने जनाएको छ ।

    यसैबीच, जियोले प्रस्तावित सेयर निष्कासनमार्फत तीन अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan