ट्रम्प मध्यावधि चुनावबाट बलियो बन्ने मिलेईको आशा
वासिङ्टन, २९ असोज : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो भएर उदाउने आशा व्यक्त गर्नुभएको छ । उहाँले ट्रम्पको चुनावी सफलता अमेरिका मात्र नभई समग्र पश्चिमी जगत्का लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।
बुधबार आयोजित हिस्पानिक हेरिटेज गालामा बोल्दै मिलेईले गोलार्धमा आफ्नो पक्षको पुनःविजयका लागि कुनै पनि अवसर गुमाउन नहुने बताउनुभयो । “जित्नु पहिलो चरण मात्र हो । अब हामीसँग अमेरिकालाई फेरि महान् बनाउने जनादेश छ”, उहाँले भन्नुभयो ।
मिलेई बुधबार अमेरिकी राजधानी वासिङ्टन पुग्नुभएको थियो । उहाँले लगानीकर्ताहरूसँग भेटघाट गर्नुभएको छ भने बिहीबार अमेरिकी वाणिज्य सङ्घमा सम्बोधन गर्ने कार्यक्रम छ ।
मिलेई ल्याटिन अमेरिकामा ट्रम्पका निकट सहयोगीमध्ये एक हुनुहुन्छ । एक वर्षअघि अर्जेन्टिनामा महत्त्वपूर्ण विधायी निर्वाचन हुन लाग्दा ट्रम्पले उहाँलाई दृढ समर्थन गर्नुभएको थियो ।
ट्रम्पको समर्थन र अमेरिकी अर्थ मन्त्रालयसँग भएको मुद्रा विनिमय सम्झौताले उक्त निर्वाचनमा मिलेईको सफलतामा योगदान पुर्याएको थियो ।
पछिल्ला वर्षमा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा दक्षिणपन्थी राजनीतिक धार तीव्र रूपमा बलियो बनेको छ । ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि यो प्रवृत्ति अझ बढेको छ ।

