कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु
कोलम्बियामा सरकारी सेनाले गरेको हवाई आक्रमणमा एक किशोरीसहित चार जना सङ्दिग्ध विद्रोही मारिएका छन् । रक्षामन्त्रीले सोमबार उक्त जानकारी दिनुभएको छ ।
अगस्टमा पदभार सम्हालेयता राष्ट्रपति एबेल्लार्डो डे ला एस्प्रिएलाको आदेशमा गरिएको यो चौथो हवाई आक्रमण हो । यस अवधिमा सात जना नाबालिगसहित ४६ जना सङ्दिग्ध विद्रोही मारिएको जनाइएको छ ।
आइतबार बिहान सबेरै गरिएको आक्रमण भेनेजुएलासँग सीमा जोडिएको उत्तरपूर्वी काटाटुम्बो क्षेत्रमा रहेको विघटित विद्रोही समूह ‘फार्क’ (एफएआरसी)को विद्रोही खेमाको शिविरलाई लक्षित गरी गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा रक्षामन्त्री जर्ज मोराले तीन पुरुष र १६ वर्षीया एक किशोरीको मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले सशस्त्र समूहले नाबालिगलाई भर्ती गर्ने कार्यको निन्दा गर्नुभयो ।
मानवअधिकारवादी समूहले सामाजिक सञ्जालमा आकर्षक अभियान सञ्चालन गरेर सशस्त्र समूहले बालबालिका तथा किशोरकिशोरीलाई भर्ती गर्ने क्रम बढाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मोराका अनुसार आक्रमणका क्रममा बारुदी सुरुङ बिछ्याइएको क्षेत्रमा तीन जना सैनिक पनि गम्भीर रूपमा प्रभावित भएका छन् ।
विश्वकै प्रमुख कोकिन उत्पादक राष्ट्रमध्ये एक कोलम्बिया पछिल्लो एक दशकयताकै सबैभन्दा खराब हिंसात्मक अवस्थाको सामना गरिरहेको छ । पदभार सम्हालेयता राष्ट्रपति डे ला एस्प्रिएलाले सशस्त्र समूहविरुद्ध हवाई आक्रमण र स्थलगत सैन्य कारबाही तीव्र बनाउनुभएको छ ।
यसैबीच, कोलम्बिया ‘शिल्ड अफ द अमेरिकाज’ गठबन्धनमा पनि सहभागी भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवर्द्धन गरेको यस गठबन्धनमा अर्जेन्टिना, इक्वेडर र एल साल्भाडोरलगायत ल्याटिन अमेरिकी देश सहभागी छन् । यसको उद्देश्य लागुऔषध तस्करीमा सङ्लग्न समूह तथा कार्टेलविरुद्ध सहकार्य गर्नु हो ।

