Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस)

कर्णाली, २७ असोजः हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ । रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको मिलन दसैँ, तिहार, छठ तथा नेपाल संवत्ले गराउँदैछ ।
 
परिवार, आफन्त, साथीसङ्गीबीचको सङ्गमको पर्व मानिने दसैँतिहारको समयमा भने सुरक्षा निकायका सबै कर्मचारीहरू कार्यक्षेत्रमा खटिनुपर्दछ । नागरिकहरूको शान्ति सुरक्षाका लागि भनेर यस वर्ष पनि यही असोज २५ गते घटस्थापनाको दिनदेखि कर्णालीमा कर्तव्यपालना गर्ने क्षेत्रमा पाँच हजारभन्दा बढी प्रहरी खटिएका छन् । समग्र नेपालीहरू खुसी, आनन्द र रमाइलो लिइरहेका बेला घर जान त परको कुरा हो, यो चाडपर्वमा कुनै अवाञ्चित, अप्रिय र आपराधिक घटना घट्छन् कि भन्ने चिन्ताले प्रहरी अधिकृतदेखि जवानसम्मका राष्ट्रसेवकलाई पिरोलिरहेको हुन्छ ।

घर जान नपाएको पीडाले भन्दा उनीहरूलाई नागरिकको जीउधनको सुरक्षा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले बढी घोत्लिन बाध्य बनाउँछ । चाडपर्वको समयमा अझ बढी दुर्घटना हुने, सामाजिक अपराध बढ्ने, अवैध धन्दा, ठगी, कालोबजारी, जुवातास, मदिरा, लागुऔषधको कारोबारसमेत हुने भएकाले यसको रोकथाम, नियन्त्रण र न्यूनीकरणमा ध्यान केन्द्रित गरेर प्रहरी आफ्नो कर्म क्षेत्रमा परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले बताउनुभयो ।
 
जिल्ला प्रहरी कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘चाडपर्व सुरक्षा विशेष नागरिकसँग चियापान कार्यक्रम’मा उहाँले भन्नुभयो, “प्रहरी बर्दी लगाएको नागरिक हो । तपाईँको जस्तै दसैँ मनाउने मन, रहर र सपना ऊसँग पनि छ । यद्यपि कर्तव्यपालनाको सिलसिलामा भएकाले तपाईँको दसैँ, तिहार, छठ तथा नेपाल संवत् खुसीका साथै रमाइलो र आनन्दमय होस् भनेर ऊ ड्युटीमा खटिएको छ । ड्युटीको क्रममा बाटोमा उभिएको प्रहरीलाई भन्दिनुस्ः हजुर दसैँ तथा तिहारको शुभकामना !”

नागरिकको शान्ति सुरक्षामा अन्य सुरक्षा निकायभन्दा फिल्डमै खटिएर काम गर्दै आएको नेपाल प्रहरीलाई दसैँको शुभकामनामात्रै भन्दिए त्यसले काम गर्न धेरै ठूलो ऊर्जा मिल्ने र आपसी सद्भाव साटसाट हुने उहाँको भनाइ थियो । २८ वर्षको जागिरे जीवनमा १४ वर्ष आफूले पनि घर जान नपाएको तीतो अनुभव व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक पछिल्लो समयमा लागुऔषध निकै चुनौती बनेकाले यसको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणमा सबैको साझा प्रयास आवश्यक भएको उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले नागरिकको शान्ति, सुरक्षा र समाजमा अमनचयन काम गर्ने मामिलामा नेपाल प्रहरीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले कर्णाली आफैँमा ठूलो भूगोल भएकाले छरिएर रहेका बस्तीका नागरिकहरूको सडक यात्रा र सुरक्षामा ध्यान दिन प्रहरीलाई आग्रह गर्नुभयो ।
 
निर्माण व्यवसायी महासङ्घ कर्णाली प्रदेश अध्यक्ष मानव बमले समुदायसँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी र उक्त सङ्गठनको कामबाट नागरिकले सुरक्षाको प्रत्याभूति गर्दै आएको बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिनुभएको थियो भने तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले शान्ति, सुरक्षा र अपराध अनुसन्धानमा प्रहरीको कार्यसम्पादनका बारेमा बताउनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan