Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ड्रोन आक्रमणपछि यान्डेक्सको डाटा सेन्टर पूर्ण रूपमा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस-एएफपी)

मस्को, २५ असोज : रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ ।

‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ ।

एक साताभित्र यान्डेक्सका डाटा सेन्टरमा आक्रमण भएको यो तेस्रो घटना हो । रूसले युक्रेनका डाटा सेन्टरमा आक्रमण गर्न थालेको केही सातापछि भएका यी घटनाले युक्रेनले पनि रूसी इन्टरनेट पूर्वाधारलाई लक्षित गरेको हुन सक्ने सङ्केत गरेका छन् ।

यान्डेक्सले टेलिग्राममार्फत जारी गरेको सेवा सूचनामा ड्रोन आक्रमणका कारण भ्लादिमिर क्षेत्रमा रहेको डाटा सेन्टरको पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।
आक्रमणमा कोही पनि घाइते नभएको कम्पनीले बताएको छ । घटनास्थलमा आपत्कालीन सेवाका कर्मचारी पुगेका छन् भने कम्पनीले सेवा पुनः सञ्चालन गर्ने उपायबारे मूल्याङ्कन गरिरहेको छ ।

“डाटा सेन्टरको सञ्चालन पूर्ण रूपमा स्थगित गरिएको छ,” कम्पनीले जनाएको छ । सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रयोगकर्तालाई वैकल्पिक विपद् व्यवस्थापन योजना सक्रिय गर्न पनि उसले सुझाव दिएको छ ।

क्षति मूल्याङ्कन भइरहेकाले बाँकी स्रोतको अवस्था अस्थिर रहेको र प्राविधिक सहयोगसम्बन्धी सञ्चारमा समेत अवरोध आउन सक्ने कम्पनीले चेतावनी दिएको छ ।

शुक्रबार यान्डेक्सले कालुगा क्षेत्रमा रहेको आफ्नो अर्को डाटा सेन्टरमा पनि ड्रोन आक्रमणबाट क्षति पुगेको जनाएको थियो । त्यसबाट डाटा सेन्टरका केही मोड्युल सञ्चालनबाहिर पुगेका थिए भने केही सेवामा अवरोध आएको थियो ।

त्यसको अघिल्लो रात रियाजान क्षेत्रमा रहेको यान्डेक्सको अर्को केन्द्रमा भएको आक्रमणबाट आगलागी भएको थियो । उक्त घटनाले यातायात तथा विद्युतीय व्यापारसम्बन्धी सेवामा व्यापक अवरोध सिर्जना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan