कांग्रेस महाधिवेशन : आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान आज नहुने भएको छ। मतदानका लागि पटक–पटक समय निर्धारण गरिए पनि तयारी पूरा हुन नसकेपछि निर्वाचन कार्यक्रम शुक्रबारका लागि सारिएको हो।
यसअघि बिहीबार बिहान १० बजेबाट मतदान सुरु गर्ने कार्यतालिका थियो। तर मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले दिउँसो साढे २ बजेलाई नयाँ समय तोकेको थियो। साढे २ बजे पनि मतदान सुरु हुन नसकेपछि समितिले बिहीबारका लागि अर्को समय सार्वजनिक नगरेको हो।
अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन्। मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य चयन हुनेछन्।
यसअघि मतदानका लागि काठमाडौंका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको थियो। प्रतिनिधिको प्रदेश तथा समूहगत प्रतिनिधित्वका आधारमा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी रहेको समितिले जनाएको छ।
यसअघि भारी वर्षा तथा प्राविधिक कारण देखाउँदै मतदानको समय पटक–पटक परिवर्तन गरिएको थियो। सुरुमा बिहान ७ बजे मतदान गर्ने कार्यतालिका रहेकामा त्यसलाई बिहान १० बजे हुँदै दिउँसो साढे २ बजेसम्म सारिएको थियो।
अब भने कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानदेखि मतदान प्रक्रिया अघि बढ्ने भएको छ।
