Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किसान परिचयपत्र वितरण गर्न माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)

कर्णाली, २० असोजः राष्ट्रिय कृषक समूह महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गर्न सरकारसँग माग गर्नुभएको छ । 

    वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेसी नगरपालिकाको संयुक्त आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘स्थानीय प्रकोप तथा जलवायु उत्थानशीलता अभ्यास, अवलम्वन र योजनासम्बन्धी अन्तरपालिका सिकाई आदानप्रदान’ कार्यशालामा अध्यक्ष केसीले प्रदेश तथा स्थानीय सरकारलाई किसान परिचयपत्र वितरण गर्नु आग्रह गर्नुभएको हो ।  

    उहाँले भन्नुभयो, “सरकारले किसानको हित हुने कार्यक्रम तथा योजना तयार गर्नुपर्दछ । किसान बलिया भए मात्र सरकार बलियो हुन्छ । अन्नदाता किसान हुन भन्ने सबै सरोकारवालाले बुझ्न जरुरी छ ।” लेकबेसीमा वर्गीकरणसहित छ हजार किसान परिचयपत्र वितरण गरिएको बताउँदै उहाँले अन्य पालिकामा यो कार्यक्रम विस्तार गर्न प्रदेश सरकारसँग माग गर्नुभयो । 

    भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले किसानको सूचीकरण गरी वर्गीकरणसहित परिचयपत्र वितरणको काम अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै महासङ्घको प्रशंसा गर्नुभयो । उहाँले तीनै तहका सरकारले कृषि र वातावरणमा आधारित खेती प्रणाली सुरु गर्नुपर्ने तथा वातावरण जोगाउन रैथानेबाली उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

    लेकबेसी नगरपालिकाका उपप्रमुख बिमला खड्लुकले सबै विपद् जोखिम व्यवस्थापनमा तीनै तहका सरकारको समन्वय तथा सहकार्य आवश्यक भएको बताउनुभयो । स्थानीय तहमा भएको मनपरी विकासले पनि अत्यधिक विपद् निम्त्याउने गरेको भन्दै उहाँले यसको नियमन हुनुपर्नेमा जोड दिनुभयो ।   

    प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्कीले जलवायु परिवर्तनको असरका कारण नेपालले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताउनुभयो । कर्णालीमा सिंचाईयोग्य जमीन ३४ प्रतिशत रहेको बताउँदै उहाँले कृषि क्षेत्रको विकास, विस्तार र दीगो व्यवस्थापनमा राज्यका सबै तह एवं निकायको साझा प्रयास आवश्यक भएको बताउनुभयो । मन्त्री लामाले प्रदेश सरकारको लक्ष्य अनुसार प्रवेश नाका सुर्खेतको बबईमा विषादी परीक्षण केन्द्र स्थापना गरिएको बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan