Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोबेल भौतिक शास्त्रमा विविध अनुसन्धान चर्चामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस-एएफपी)

स्टकहोम, २० असोज : यस वर्षको नोबेल भौतिक शास्त्र पुरस्कारका लागि पार्टिकल फिजिक्स (कण भौतिक शास्त्र), एस्ट्रोफिजिक्स (खगोल भौतिक शास्त्र), मेटामेटरियल्स (विशेष संरचनाका कृत्रिम पदार्थ) र ‘इनभिजिबिलिटी क्लोक’ (अदृश्य बनाउने प्रविधि) लगायतका अनुसन्धान चर्चामा छन् । स्विडिस एकेडेमीले मङ्गलबार बिहान ११ः४५ बजे विजेताको घोषणा गर्नेछ ।

बेलायतका वैज्ञानिक जोन बी. पेन्ड्री र अमेरिकी वैज्ञानिक डेभिड स्मिथ मेटामेटरियल्स तथा प्रकाशलाई वस्तुको वरिपरि मोडेर वस्तुलाई अदृश्य देखाउने इनभिजिबिलिटी क्लोक प्रविधिका लागि सम्भावित दावेदार मानिनुभएको छ ।

क्वान्टम क्यासकेड लेजर (क्वान्टम तहमा काम गर्ने लेजर) को आविष्कार तथा विकासमा योगदानका लागि इटालियन–अमेरिकी वैज्ञानिक फेडेरिको क्यापासोलोको नाम पनि चर्चामा छ ।

ट्विस्ट्रोनिक्स (तहहरूलाई निश्चित कोणमा घुमाएर गरिने अनुसन्धान) का लागि स्पेनका पाब्लो जारिलो–हेरेरो, क्यानाडाका एलन म्याकडोनाल्ड र इजरायलका रफी बिस्ट्रिजर तथा ओएलइडी (जैविक प्रकाश उत्सर्जक डायोड) प्रविधिमा योगदानका लागि जापानकी चिहाया अदाची तथा अमेरिकी वैज्ञानिक स्टिफन आर. फोरेस्ट र मार्क ई. थम्पसन सम्भावित दावेदार हुनुहुन्छ ।

क्वान्टम एनमोलस हल इफेक्ट (क्वान्टम विसङ्गत हल प्रभाव), म्याग्नेटोइलेक्ट्रिक मल्टिफेरोइक्स (चुम्बकीय तथा विद्युतीय गुण भएका पदार्थ), एन्टिहाइड्रोजन (प्रतिपदार्थ परमाणु) र वेभलेट थ्योरी (तरङ्गिका सिद्धान्त) सम्बन्धी अनुसन्धान पनि पुरस्कारका सम्भावित विषयका रूपमा चर्चामा छन् ।

एस्ट्रोफिजिक्स (खगोल भौतिक शास्त्र) तर्फ बेलायतका वैज्ञानिक मार्टिन रीस तथा आकाशगङ्गाको निर्माणसम्बन्धी अनुसन्धान गरेका कार्लोस फ्रेन्क, जुलियो नवारो र साइमन ह्वाइटको नाम चर्चामा छ ।

गत वर्ष भौतिक शास्त्रको नोबेल पुरस्कार जोन क्लार्क, मिशेल डेभरेट र जोन मार्टिनिसलाई क्वान्टम मेकानिक्स (क्वान्टम यान्त्रिकी) को व्यावहारिक प्रयोग तथा डिजिटल प्रविधिको विकासमा योगदानका लागि प्रदान गरिएको थियो ।

भौतिक शास्त्रपछि बुधबार रसायनशास्त्र, बिहीबार साहित्य र शुक्रबार शान्ति पुरस्कार घोषणा हुनेछ । अर्थशास्त्रको पुरस्कार घोषणासँगै नोबेल पुरस्कार सिजन अक्टोबर १२ मा सकिनेछ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि व्यापक लबिङ गर्नुभएको थियो । यस वर्ष पनि उहाँको शान्ति पुरस्कारप्रतिको चासो रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan