Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस/एएफपी)

अमेरिकाले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधार स्थलमा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको पुष्टि गरेको छ । 

    अमेरिकी अधिकारीका अनुसार नयाँ खतराका कारण विमान फिर्ता लगिएको हो । यद्यपि बेलायती सरकारले सोमबार उक्त हवाई आधार सुरक्षित रहेको जनाएको छ ।

    दक्षिण–पश्चिम बेलायतस्थित फेयरफोर्ड हवाई आधारमा सेप्टेम्बर २७ मा स्थानीय किसानले धेरै भ्यानमा आएका मानिस शङ्कास्पद गतिविधिमा सङ्लग्न रहेको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    घटनापछि आतङ्वादविरोधी अनुसन्धान सुरु गरिएको थियो भने हवाई आधारनजिकैका ८५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । अमेरिकी सेनाले इरानविरुद्धको कारबाहीमा यही हवाई आधार प्रयोग गरेको थियो ।

    आतङ्कवादविरोधी प्रहरीले भ्यानमा कुनै विस्फोटक पदार्थ नभेटिएको तर केही परिमाणमा पेट्रोल बरामद गरिएको जनाएको छ ।

    पेन्टागनका एक अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा फेयरफोर्डमा तैनाथ अमेरिकी बमवर्षक विमान अमेरिकास्थित आफ्ना आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् । परिचालनगत सुरक्षाका कारण विमान र सैनिकको आवतजावतबारे वास्तविक समयमा जानकारी दिन नसकिएको विज्ञप्तिमा उल्लेख छ ।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी अधिकारीले बमवर्षक विमान ‘खुलासा नगरिएको नयाँ खतरा’का कारण फिर्ता लगिएको बताएका छन् । दुई अमेरिकी अधिकारीले ‘द न्युयोर्क टाइम्स’लाई इरानसमर्थित षड्यन्त्रसँग सम्बन्धित नयाँ खतराको सूचना पाएपछि विमान सारिएको बताएका छन् ।

    उनीहरूका अनुसार तीन साताअघि देखिएका सुरक्षा चेतावनीसँग सम्बन्धित नयाँ जानकारी पछिल्लो २४ घण्टामा गम्भीर बनेपछि विमान फिर्ता पठाइएको थियो ।

    फेयरफोर्ड हवाई आधार सुरक्षित रहेको प्रश्नमा बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका प्रवक्ताले ‘हो’ भन्दै देशभित्र र विदेशमा रहेका आफ्ना सैन्य हवाई आधारको सुरक्षा गर्न बेलायतसँग “परीक्षण गरिएका र प्रमाणित विधि” रहेको बताउनुभयो । 

    घटनाको उद्देश्यबारे आतङ्कवादी गतिविधिदेखि इन्धन चोरीसम्मका विभिन्न अनुमान गरिएका छन् । बर्नहमले घटनामा इरानको भूमिका रहेको ‘बलियो सङ्केत’ देखिएको बताउनुभयो । तेहरानले भने उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो सङ्लग्नता नरहेको जनाएको छ ।

    सेप्टेम्बरको घटनामा पक्राउ परेका बेलायतमा बसोबास गर्ने छ जना पुरुषलाई धरौटीमा रिहा गरिएको थियो । उनीहरूमध्ये केहीसँग बेलायती–इरानी दोहोरो नागरिकता रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई रिहा गर्ने निर्णयको आलोचना गर्नुभएको छ ।

    बेलायतस्थित इरानी दूतावासले घटनामा तेहरानको सङ्गलग्नता रहेको अनुमानलाई ‘स्पष्ट रूपमा अस्वीकार र कडा निन्दा’ गरेको जनाएको छ ।

    घटनालाई थप रहस्यमय बनाउँदै बेलायती सञ्चारमाध्यमले प्रारम्भिक सङ्दिग्धमध्ये एक व्यक्तिले नै प्रहरीलाई घटनाबारे जानकारी दिएको जनाएका छन् । प्रहरीले भने यी रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन । हालैका दिनमा हवाई आधारको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

    बेलायतले मार्चमा अमेरिकालाई इरानविरुद्ध ‘विशिष्ट रक्षात्मक कारबाही’का लागि फेयरफोर्ड हवाई आधार प्रयोग गर्न अनुमति दिएको थियो । त्यसयता अमेरिकी बमवर्षक तथा अन्य सैन्य विमानले उक्त हवाई आधारबाट उडान र अवतरण गर्दै आएका थिए ।

    फेयरफोर्ड बेलायतको मुख्य भू–भागमा अमेरिकी बमवर्षक विमानका लागि प्रयोग हुँदै आएको प्रमुख हवाई आधार हो ।

    घटनाको सुरुआत वेल्फोर्ड गाउँका एक किसानले सडक अवरुद्ध गरिरहेका तीन भ्यान र घटनास्थलबाट भागिरहेका मुखुन्डो लगाएका मानिस देखेपछि प्रहरीलाई जानकारी दिएसँगै भएको थियो ।

    हवाई दृश्यमा भ्यानभित्र ब्यारेल देखिएका थिए भने कम्तीमा एउटा भ्यानमा नक्कली लोगो र फोन नम्बर राखिएको थियो । यसले उक्त भ्यानलाई आधिकारिक डिजेल आपूर्ति कम्पनीको जस्तो देखाएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan