गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी
तेल अभिभ, १९ असोज : इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ ।
आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन एकाइका सदस्य महमुद इब्राहिम दिब अल्यान र हमाससँग सम्बन्धित गतिविधिमा संलग्न साकर नाबिल मुसा कैसी रहेका छन् ।
आइडिएफले आइतबार टेलिग्राममार्फत दिएको जानकारीअनुसार अबु नुसेरालाई आइतबार खान युनुस क्षेत्रमा गरिएको आक्रमणमा मारिएको हो । त्यसअघि शनिबार गरिएको छुट्टै आक्रमणमा अल्यान मारिएको आइडिएफले जनाएको छ ।
आइडिएफले अल्यानले हालै निर्धारित सीमारेखाको क्षेत्रमा आफ्ना सैनिकविरुद्ध गतिविधि सञ्चालन गर्नुका साथै युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हमासको क्षमता पुनःस्थापित गर्न काम गरिरहेको दाबी गरेको छ । उनलाई हवाई आक्रमणमार्फत मारिएको आइडिएफको भनाइ छ ।
इजरायली सेनाले आक्रमणअघि नागरिकको क्षति कम गर्न सटीक हतियार तथा हवाई निगरानीलगायतका उपाय अपनाइएको जनाएको छ । दक्षिणी कमान्डअन्तर्गतका आफ्ना सैनिक सम्झौताअनुसार उक्त क्षेत्रमा तैनाथ रहेको र तत्काल खतरा ठानिएका गतिविधिविरुद्ध कारबाही जारी राख्ने पनि आइडिएफले बताएको छ ।
यसअघि खान युनुस क्षेत्रमा गरिएको अर्को आक्रमणमा कैसी मारिएको आइडिएफले जनाएको थियो । सेनाका अनुसार कैसीले सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा इजरायली क्षेत्रमा प्रवेश गरेका थिए । उनले हमाससँगको गतिविधिसँगै टर्कीको डेनिज फेनेरी नामक संस्थाको निर्देशकका रूपमा समेत काम गरेको आइडिएफको दाबी छ ।
आइडिएफले उक्त संस्थाले आफूलाई मानवीय सहायता सङ्गठनका रूपमा प्रस्तुत गरे पनि हमासका वरिष्ठ सदस्य र टर्कीका केही पक्षसँग सम्बन्ध राख्दै आएको आरोप लगाएको छ । कैसीले संस्थामार्फत हमासका सदस्यलाई रोजगारी दिन तथा आर्थिक सहयोग उपलब्ध गराउन भूमिका खेलेको पनि आइडिएफले दाबी गरेको छ ।
इजरायली सेनाले कैसीले युद्धका क्रममा आफ्ना सैनिक तथा इजरायली नागरिकविरुद्ध गतिविधि सञ्चालन गर्नुका साथै युद्धविरामको उल्लङ्घन गर्दै हमासको क्षमता पुनःस्थापित गर्न काम गरेको आरोप लगाएको छ । आइडिएफले हमासको सैन्य गतिविधिलाई सहयोग गर्ने वित्तीय क्षमतामा समेत अवरोध पु¥याउने प्रयास जारी राखेको जनाएको छ ।
