बोल्सोनारो परिवारको प्रभाव विस्तार
रियो दी जेनेरियो, १९ असोज : ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो बोल्सोनारोले पहिलो चरणमा ४७ प्रतिशत मतसहित वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई पछि पार्नुभएको छ ।
लुलाले ४५ प्रतिशत मत पाउनुभएको छ । उहाँहरूबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।
बोल्सोनारो परिवारका अन्य सदस्यले पनि निर्वाचनमा सफलता हासिल गरेका छन् । परिवारसम्बद्ध लिबरल पार्टीले सिनेटका ५४ मध्ये १९ सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ ।
जाइर बोल्सोनारोकी पत्नी मिशेलले फेडरल डिस्ट्रिक्टबाट सिनेटका लागि सबैभन्दा धेरै मत प्राप्त गर्नुभएको छ भने उहाँका छोरा कार्लोस सान्ता क्याटरिनामा दोस्रो धेरै मत पाउने सिनेट उम्मेदवार बन्नुभएको छ ।
सबैभन्दा कान्छा छोरा जाइर रेनान र जाइरका भाइ रेनाटो पनि क्रमशः सान्ता क्याटरिना र साओ पाउलोबाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएको छ ।
जाइर बोल्सोनारोलाई सत्ता कब्जाको षड्यन्त्रमा दोषी ठहर गरिएपछि सन् २०३० सम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको छ ।
फ्लेभियो राष्ट्रपतिमा निर्वाचित हुनुभएमा जेलमा रहेका पितालाई माफी दिलाउने प्रतिबद्धता पूरा गर्न परिवारका सांसदहरूको सहयोग लिन सक्नुहुनेछ । त्यसका लागि काङ्ग्रेसका दुवै सदनको स्वीकृति आवश्यक पर्नेछ ।
लुला पुनः निर्वाचित हुनुभए पनि रूढीवादी सांसदहरूको प्रभाव रहेको काङ्ग्रेसबाट आफ्ना नीति अघि बढाउन उहाँलाई चुनौती हुने देखिएको छ ।
