भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन
दमौली (तनहुँ), ५ असोज : भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा रु ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी रु ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो ।
भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयले रजिष्ट्रेसन दस्तुरबापत मात्रै रु १७ करोड १५ लाख २८ हजार ८५४ सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुँजीगत लाभकरबापत रु १३ करोड ४२ लाख ८४ हजार ४९९ र अन्य राजस्व शीर्षकबाट रु ५९ लाख पाँच हजार १४८ सङ्कलन भएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नौ हजार ९३६ वटा लिखत पारित भएका छन् ।
यस अवधिमा ९८७ वटा नामसारी, ३८४ वटा संशोधन, १८७ वटा दाखिला खारेज र ३५ वटा छुट दर्ताको काम सम्पन्न भएको प्रमुख पौडेलले बताउनुभयो ।
जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
त्यस्तै, जग्गा तथा सम्पत्ति कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभकरबाट पनि ठूलो राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको छ ।
