पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक
काठमाडौँ, १२ मङ्सिर : पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ लोकार्पण गरिएको छ ।
दीपकप्रकाश बास्कोटा फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवलगायतले पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले चिया उद्योग खोलेर पूर्वमन्त्री बास्कोटाले किसानलाई दिनुभएको सन्देश महत्त्वपूर्ण रहेको बताउनुभयो । बास्कोटाले राजनीति, सहकारी र आध्यात्मिक क्षेत्रमा दिनुभएको योगदानको पनि प्रथम राष्ट्रपति यादवले स्मरण गर्नुभयो ।
सबै क्षेत्रबाट अहिले पूर्वमन्त्री बास्कोटा शरीर र मनलाई व्यवस्थित गर्ने आध्यात्मिक क्षेत्रमा लाग्दा बढी योगदान भइरहेको पनि उहाँले सुनाउनुभयो । ‘एक निष्ठावान् यात्री’ पुस्तकमाथि समीक्षा गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा तीर्थ खनियाँले पुस्तकले नेपालले विश्वको आध्यात्मिक केन्द्रका रुपमा स्थापित गर्न बल दिने बताउनुभयो ।
राजनीति र सहकारी क्षेत्रमा लाग्नुभएका सरल व्यक्तित्व बास्कोटामा महर्षि महेश योगीले भविष्यको आशा देखेर नै अभियानको नेपालमा नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको ह्ुनसक्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक प्रा डा मृगेन्द्रबहादुर कार्कीले पूर्वमन्त्री बास्कोटाको जीवनीको विषय विश्वविद्यालयको जर्नलमा छपाउन योग्य रहेको त्यसका लागि हुनेगरी लेख तयार पार्न सुझाव दिनुभयो । अमेरिका र अष्ट्रेलियाबाट ग्रामीण परिवेशको अध्ययन गर्न आएका विद्यार्थी गाउँमा गएर अध्ययन गरिरहेका बेला नेपालको शहरी क्षेत्रका विद्यार्थी शौचालय छैन भन्ने बहानामा गाउँमा गएर सामाजिक सेवाका विषयको अध्ययन नगर्ने अवस्था अहिले नेपाल निर्माण भएका बेला बास्कोटाको जीवनीमा आधारित पुस्तकले त्यस्ता व्यक्तिलाई पाठ सिकाएको पनि उहाँले सुनाउनुभयो ।
विश्वव्यापी महर्षि वैदिक अभियानका अन्तर्राष्ट्रिय निर्देशक अमेरिकी नागरिक डा किङ्स्ली बु्रक्सले नेपालमा वैदिक पुनःजागरणको अभियान चलाउन पछिल्लो समय बास्कोटाले खेलेको भूमिकाको सराहना गर्नुभयो । भावातीत ध्यान, वैदिक यज्ञ र जैविक खेतीमार्फत नेपाललाई वैदिक राष्ट्र बनाउने बाटोमा बास्कोटाको नेतृत्वमा काम भइरहेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
पुस्तकका लेखक भरतराज पौडेलले तीन वर्ष लगाएर स्वतन्त्र रुपमा पुस्तक लेख्न पाइएको सुनाउनुभयो । अढाइ वर्षमा बुवा, १३ वर्षमा आमा र त्यसपछि लगत्तै आफन्त गुमाउँदै गएर १८ वर्षको उमेरमा पढाइ सुरु गरेर बास्कोटाले हासिल गरेको उपलब्धिको कथा पुस्तकमा समेटिएको जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री बास्कोटाले सहकारीका विषयमा विभिन्न राजनीतिक दललाई आफूले दिएको सुझाव नमानेका कारण सहकारी क्षेत्रमा भएका समस्यालगायत विषय पुस्तकमा समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृतिविद् डा घनश्याम खतिवडा, फाउण्डेशनका सञ्चालकद्वय डम्बरकुमारी बास्कोटा र नवीन बास्कोटाले पनि पुस्तकमा समावेश गरिएका विभिन्न विषयका बारेमा चर्चा गर्नुभएको थियो ।
फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा ५६८ पृष्ठ छ । जीवनी, आध्यात्मिक, मूल्याङ्कन, सहकारी नौ खण्डमा पुस्तकलाई विभाजन गरिएको जनाइएको छ । पुस्तकको मूल्य रु ७०० तोकिएको छ ।
