Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१४औँ किन्डर ओलम्पिकको पहिलो चरण सम्पन्न, २० विद्यालयका ९०० बालबालिकाको सहभागिता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |
newsabhiyan

काठमाडौं । मंसिर १२, शनिबार।

काठमाडौं उपत्यकाका २० विद्यालयका करिब ९०० बालबालिकाको सहभागितामा आयोजित १४औँ किन्डर ओलम्पिक (Kinder Olympic) को पहिलो चरणको खेलकुद कार्यक्रम सम्पन्न भएको छ। दशरथ रंगशालामा आयोजित कार्यक्रममा बालबालिकाले २१ प्रकारका विभिन्न खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा एकता टिमका प्रतिनिधिहरूले संयुक्त रूपमा बेलुन उडाएर गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर डंगोलले सानै उमेरदेखि बालबालिकाले यस्तो खेलकुद अवसर प्राप्त गर्नु सकारात्मक भएको बताउँदै खुसी व्यक्त गरिन्। उनले कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएका विद्यालय, अभिभावक तथा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरिन्।

एकताका अध्यक्ष सुवर्ण केशरी महर्जनले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद अत्यन्त महत्वपूर्ण रहेको बताए। बालबालिकाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै संस्थाले हरेक वर्ष किन्डर ओलम्पिकमार्फत उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको उनको भनाइ थियो। कार्यक्रममा विद्यार्थी तथा बालबालिकालाई सहभागी गराउने सम्पूर्ण विद्यालय र अभिभावकप्रति उनले आभार व्यक्त गरे।

कार्यक्रम संयोजक बिना शर्माले कुनै अवरोधबिना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै स्वयंसेवक, एकता सदस्य, विद्यालय परिवार, अभिभावक, समन्वयकर्तालगायत सञ्चारकर्मीलाई धन्यवाद दिइन्।

कार्यक्रममा बालबालिका विभिन्न खेलकुद पोसाक, विद्यालयका ब्यानर, खेलसम्बन्धी प्लेकार्ड तथा विविध संस्कृति झल्काउने भेषभूषासहित आकर्षक परेडमा सहभागी भएका थिए। राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा ‘जहाँ सुनका बाला झुल्छन्’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो। साथै तेक्वान्दो, हुलाहुप, पिटी, जिम्न्यास्टिक, मार्सल आर्ट र जुम्बालगायतका सामूहिक खेल तथा शारीरिक अभ्यास प्रदर्शन गरिएको थियो।

प्रतियोगिताअन्तर्गत दुई ट्र्याक र १६ लेनमा व्यक्तिगत खेलहरू सञ्चालन गरिएको थियो। सहभागी बालबालिकालाई गोल्ड मेडल प्रदान गरिएको थियो। संस्थापक सदस्य लिना श्रेष्ठ र सदस्य अर्चना भण्डारीले ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने मूल नाराले बालबालिकामा खेल भावना, आत्मविश्वास र सहभागिताको महत्व उजागर गरेको बताए।

कार्यक्रमको अन्त्यमा सहभागी बालबालिकालाई मेडल तथा विद्यालयहरूलाई शिल्ड प्रदान गरिएको थियो। स्वास्थ्य सेवाका लागि अल्का हस्पिटलको टोलीले हेल्थ डेस्कमार्फत सहयोग गरेको थियो।

बालबालिकाको प्रतिभा प्रस्फुटन, खेलकुदप्रतिको रुचि अभिवृद्धि र सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आयोजना हुँदै आएको किन्डर ओलम्पिकले आफ्नो १४औँ संस्करणसम्म आइपुग्दा बालबालिकाका लागि महत्वपूर्ण खेलकुद मञ्चका रूपमा निरन्तरता पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan