Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

काठमाडौँ, ७ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राजधानी आएका राउटे समुदायका सदस्यलाई भेट्नुभएको छ ।

सुन्धारास्थित उक्त समुदायका सदस्य बस्नुभएको स्थानमै पुगेर मन्त्री बादीले आज उहाँहरुलाई भेट गर्नुभएको हो ।

त्यसअवसरमा उहाँले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायतका आवश्यक सामग्री उपहारस्वरूप प्रदान गर्नुभयो ।

उहाँले दिएको सम्मान र सामग्रीप्रति राउटे समुदायका सदस्यले खुसी व्यक्त गर्नुभयो । त्यस क्रममा राउटे समुदायको बसोबास र मृत्युसंस्कारसँग जोडिएको परम्पराबारे पनि छलफल भएको पनि सचिवालयले जनाएको छ । 

त्यस अवसरमा राउटे समुदायका सदस्यले आफ्नो समुदायमा कसैको मृत्यु भएमा बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, मृत्युसंस्कारपछि सातदेखि बाह्र दिनसम्म किरिया बस्ने र त्यसपछि पुरानो बसोबास छाडेर अर्को स्थानमा बसाइँ सर्ने परम्परा रहेको जानकारी गराए । 

एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेपछि पनि विभिन्न कारणले पुनःस्थान परिवर्तन गर्ने समुदायमा चलन रहेको उहाँहरूले मन्त्रीलाई सुनाउनुभयो ।

यस्तो निरन्तर बसाइँसराइले खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्राप्त गर्न असहज भएको उहाँहरुले मन्त्रीसमक्ष बताउनुभयो ।

यस अवसरमा मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको इतिहास र यस समुदायको संस्कृति तथा परम्पराको सम्मान गर्दै यसको संरक्षण र प्रर्वद्धनमा नेपाल सरकार लागिरहेको बताउनुभयो ।

उहाँले समुदायको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त अन्न, विशेष गरेर बालबालिका, गर्भावस्थामा रहेका महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र राउटे समुदायको जीवनस्तर सुधारका लागि सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।

यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उक्त समुदायको जीवनशैली र समस्या बुझ्नु भएकी मन्त्री बादीलाई समुदायका सदस्यले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री तथा काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए ।

त्यही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्य काठमाडौँ आएको जानकारी पाएपछि मन्त्री बादी उहाँहरूलाई भेट्न पुग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan