Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | रासस

 

महोत्तरी, ७ मङ्सिरः लाउँलाउँ खाउँखाउँको किशोर र जवानीको उमेर विदेशमा पसिना बगाउनुभएका महोत्तरीको सोनमा–५ खैरवनीका ३४ वर्षीय मनिषकुमार यादवले आर्जित रकम र सीपलाई उद्यममा लगाउनुभएको छ । अल्लारे १६ वर्षीय किशोर उमेरबाटै भारतको चण्डीगढ, मद्रास र मलेसिया तथा कुवेतमा गरी १५ वर्ष विदेशमा बिताउनुभएका उहाँले आर्जित रकम र सीपलाई अब आफ्नै ठाउँमा च्याउ (तरकारी विशेष) उत्पादनको उद्यममा लगाउनुभएको हो ।

 

“अब जे सिकेँ र जे आर्जन गरँे, यहीँ लगाउने निधो गरेर च्याउ उत्पादन गर्ने उद्यम थाले”, मनिषकुमार भन्नुहुन्छ, “विदेशमा पनि यसबारे अनुभव सँगालेको थिएँ, देश फर्केपछि सरकारले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी १५ दिने तालिम लिएपछि म ढुक्क भएर काममा लागेको हुँ ।” जिल्लाको भारतीय सीमावर्ती बस्तीका उहाँले च्याउको बजार र मागको सर्वे गरेपछि उद्योग भने बर्दिबासमा सञ्चालन गर्नुभएको छ ।

 

“अहिले पाँच कट्ठा जग्गा पाँच वर्षको करारमा लिएर उद्योग सुरु गरेको छु, आफ्नो सीप र अनुभवसँगै कृषि विषय नै अध्ययन गरेका दक्ष प्राविधिक भाञ्जा विकास यादवको साथ छ”, उहाँ भन्नुहुन्छ, “बजारसँग सम्पर्क र समन्वय छ, प्रत्येक महिना दुई क्विन्टल च्याउ बजार जानेगरी काम थालेको छु ।” 

 

करारको जग्गा  बर्सेनि रु १० हजारमा पाइएको र उद्योग सञ्चालन गर्दासम्म रु छ लाख लागत पुगेको मनिषकुमारको भनाइ छ । “मैले कतै ऋण गर्नुपरेको छैन, आफ्नै कमाइ हो”, उहाँ  भन्नुहुन्छ, “अब बाँकी जीवन घरपरिवारका बाबु, आमा, पत्नी र छोराछोरीसँग यतै बिताउने निधोसाथ काम थालेको छु ।” 

 

तरिका पुर्याएर खेती गरिए यसबाट अपेक्षित उत्पादन लिन सकिने उहाँको विश्वास छ । च्याउको अहिले व्यापारीले लाने दर प्रतिकिलो रु १७५ र खुद्रा बिक्री रु २०० प्रतिकिलो रहेको मनिषकुमारको भनाइ छ ।

 

मधेसका लागि च्याउका प्रचलित चारपाँच जातमध्ये यहाँ कन्ने जात बढी फस्टाउने हुँदा आपूmले प्रारम्भ यसैेबाट गरेको मनिष बताउनुहुन्छ । जाडो याममा यसको उत्पादन राम्रो लिन सकिने हुँदा फागुनसम्म १० क्विन्टल उत्पादन लिने उहाँको लक्ष्य छ । जाडोभरि प्राकृतिक रूपमै उपयुक्त तापक्रम रहने र गर्मी याममा भने ताप व्यवस्थापन गरिँदा वर्षभरि नै च्याउ उत्पादन लिन सकिने उहाँको भनाइ छ ।

 

“मुख्य कुरा उत्पादन र बजारको हो, यसको बजार बर्दिबासदेखि पूर्व इटहरीसम्म जोडेका छौँ, मागकर्ताले उत्पादितस्थलबाटै लिएर जाने हुँदा ढुवानीको झन्झट रहँदैन”, मनिषकुमार भन्नुहुन्छ, “उद्योग स्थापनाताका बाह्य जनशक्ति लगाउन परे पनि अबका नियमित काम आफ्नै घरपरिवारबाट गर्दैछौँ ।” अन्य घरायसी काम नभएका बेला परिवारका सबै यस काममा लाग्नसक्ने हुँदा सबैलाई उत्पादनसँग प्रत्यक्ष जोड्न पाइएको उहाँको भनाइ छ ।

 

योेजनाबद्ध काम थालिए सानै पुँजीमा पनि उद्यम सञ्चालन गर्न सकिने हुँदा विदेशमा हासिल गरेको सीप र अनुभव आफ्नै ठाउँमा ढाल्न सकिन्छ । यो देखाउन पनि आपूmले उद्यम स्थापना गरेको मनिषकुमारको भनाइ छ । यो उद्यम स्थापनाका लागि कच्चापदार्थ (घर बनाउन बाँस, घेरबेरका लागि खर र झुत्रा बोरा आदि) अधिकांश आफ्नै वरपर पाइने चिज छन् । उत्पादन लिन चाहिने मुख्य कच्चा पदार्थ पराल र गहुँको भुस जति पनि सरल मूल्यमा आफ्नै वरपर पाइने भएपछि बीउ र केही  औषधिमात्र बजारको भरपर्दो ठाउँबाट ल्याउनुपरेको उहाँ बताउनुहुन्छ ।

 

“प्रत्येक पटक २८ दिनमा उत्पादन तयार हुन्छ”, मनिषकुमार भन्नुहुन्छ, “तयार हुनासाथ व्यापारीले यहीँबाटै लान्छन् ।” प्रयत्न नै नगरी केही भएन भन्ने गुनासो गर्ने प्रवृत्ति पनि देखिएको बताउँदै उहाँले आपूmलाई सीपसँग जोड्ने, सीपलाई श्रमसँग र त्यसलाई उद्यममा परिणत गर्नुपर्ने युवापुस्तालाई उहाँको सुझाव छ ।

 

 “सीप र श्रम जुटेपछि उद्यमका लागि रकमको सहयोग गर्ने पाइन्छन्”, उहाँ भन्नुहुन्छ, “खासगरी वैदेशिक रोजगारीबाट फर्केकाहरूले आफ्नै बलबुताबाट यो गर्न सक्छन् ।” लामो समय विदेश रहेको अनुभवबाट आपूmलाई उता बगाइने पसिना अब आफ्नै ठाउँमा बगाउन प्रेरणा जागेको मनिषकुमारले बताउनुभयो ।

 

“हाम्रो यस ठाउँमै सम्भावना छन्, आफ्नो सीप र दक्षताअनुसार हामीले कामको क्षेत्र छनोट गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “सङ्कल्प र लगनचाहिँ चाहिन्छ ।” आफ्ना पुस्ताका विदेश रहेका थुप्रै साथी अहिले अब यतै काममा जुट्ने मनस्थिति बनाइरहेका मनिषकुमारको भनाइ छ ।

–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan