Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिभिल इन्जिनियरिङ’ अध्ययन गरेर सैलुन व्यवसाय सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार | रासस

 

भद्रपुर (झापा), ३ असोजः जापान जाने अवसर हातमा थियो । सिभिल इन्जिनियरिङको अध्ययन र निर्माण क्षेत्रमा काम गरेको अनुभव पनि थियो । तर अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय प्रतीक भट्टराईले विदेशको बाटो रोज्नुभएन । आफूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै उहाँले शनिश्चरे बजारमा प्रशिक्षण केन्द्रसहितको सैलुन सञ्चालनमा ल्याउनुभएको छ ।

 

स्थानीयस्तर मै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले उहाँले अर्जुनधारा–८ स्थित एक कम्प्लेक्समा ‘जाइरो सैलुन एण्ड एकाडेमी’ सञ्चालनमा ल्याउनुभएको हो । उक्त सैलुनको शुक्रबार वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले शुभारम्भ गर्नुभएको थियो । “सिभिल इन्जिनियरिङ पढेको थिएँ, निर्माण क्षेत्रमा पनि केही समय काम गरेँ । हालसालै जापान जाने अवसरसमेत आएको थियो,” उहाँले भन्नुभयो, “तर विदेश जानुभन्दा आफूले सिकेको सीपलाई यहीँ व्यवसायका रूपमा अघि बढाउने सोच बनाएँ ।”

 

सैलुन व्यवसाय सुरु गर्नुअघि उहाँले बिर्तामोडस्थित जेन्जी बार्बर सपबाट सैलुनसम्बन्धी सीप हासिल गर्नुभएको थियो । आफ्नो रुचि र सिकेको सीपलाई व्यवसायसँग जोड्ने उद्देश्यले सैलुनसँगै प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

 

“सैलुनमा सेवा दिनेमात्र होइन, सीप सिक्न चाहने युवालाई तालिम दिने र उनीहरूलाई पनि स्वरोजगार बन्न सक्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।

 

भट्टराईका अनुसार एकाडेमीमा कपाल काट्ने तथा विभिन्न हेयर स्टाइल बनाउने, विशेष अवसरका लागि हेयर स्टाइलिङ तथा मेकअप सेवा, ग्रुमिङ तथा सौन्दर्यसम्बन्धी तालिम र नयाँ तथा आधुनिक हेयर स्टाइलसम्बन्धी सीप विकास तालिम सञ्चालन गरिनेछ । कपालसम्बन्धी एकमहिने बेसिक र दुइमहिने एड्भान्स कोर्स सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

 

वडाध्यक्ष उप्रेतीले विदेश जाने युवाको बढ्दो प्रवृत्तिबीच स्वदेशमै व्यवसाय सञ्चालन गर्नु सकारात्मक उदाहरण भएको बताउनुभयो । “अहिले अधिकांश युवाको सोच विदेश जानेतर्फ केन्द्रित छ । तर आफ्नै ठाउँमा सीप र लगानी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नु आफैँमा राम्रो उदाहरण हो,” उहाँले भन्नुभयो, “यस्ता व्यवसायले स्थानीयस्तरमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न सहयोग पु¥याउछ ।”

 

छोराले विदेश जाने अवसर त्यागेर स्वदेशमै व्यवसाय सुरु गरेपछि बुबा सुरेश भट्टराई खुसी हुनुहुन्छ । काम ठूलो–सानो नहुने र आफ्नो सीप तथा श्रमलाई स्वदेशमै उपयोग गर्न सक्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले छोराले सुरु गरेको व्यवसायलाई विस्तार गर्दै जिल्लाका विभिन्न ठाउँमा शाखा सञ्चालन गर्न सुझाव दिनुभयो  ।

 

“काम ठूलो–सानो हुँदैन, आफ्नो सीप र श्रमलाई जहाँ पनि उपयोग गर्न सक्नुपर्छ । छोराले विदेश जाने अवसर छाडेर आफ्नै ठाउँमा व्यवसाय सुरु गरेकोमा खुसी लागेको छ,” उहाँले भन्नुभयो, “अब यसलाई विस्तार गर्दै जिल्लाका विभिन्न ठाउँमा शाखा सञ्चालन गर्नेतर्फ पनि अघि बढ्नुपर्छ ।” हाल एकाडेमीमा दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan