व्यापार र लगानी विस्तार गर्न सिरिया–ईयूबीच पहल
सिरियाले युरोपेली संघ (ईयू) सँग सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले नयाँ सहकार्य सम्झौताको तयारी अघि बढाएको छ । लामो समय शासन गरेका राष्ट्रपति बसर अल असद सत्ताच्युत भएको करिब दुई वर्षपछि दुवै पक्षबीच व्यापार, लगानी र राजनीतिक सहकार्य विस्तार गर्ने प्रयास भइरहेको हो ।
सिरियाका विदेशमन्त्री असाद अल शैबानीले मंगलबार दमास्कसमा आयोजित सिरिया साझेदारी समन्वय मञ्चमा नयाँ सम्झौताका लागि युरोपेली संघसँग संयुक्त दस्तावेज तयार भइरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रस्तावित सम्झौताले व्यापार तथा लगानीका अवसर विस्तार गर्नुका साथै राजनीतिक संवाद र संस्थागत सहकार्यलाई बलियो बनाउनेछ ।
यसअघि सन् १९७७ मा सिरिया र युरोपेली संघबीच आर्थिक तथा व्यापारिक सहकार्यसम्बन्धी सम्झौता भएको थियो । सन् २००८ मा पुरानो सम्झौताको स्थानमा नयाँ साझेदारी सम्झौताको प्रारम्भिक सहमति भए पनि मानव अधिकारसम्बन्धी चिन्ताका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलासले सोमबार सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले पुरानो सम्झौतालाई अघि बढाउने र नयाँ सम्झौताका लागि वार्ता सुरु गर्ने विषयमा समर्थन जनाएको बताउनुभएको थियो ।
१३ वर्षभन्दा लामो गृहयुद्धका कारण सिरियामा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए । युद्धले देशको पूर्वाधार र उद्योगमा समेत ठूलो क्षति पुर्याएको थियो ।
युरोपेली संघले सिरियाको पुनर्निर्माणका लागि आर्थिक प्रतिबन्ध हटाइसकेको छ । यद्यपि नयाँ सम्झौताका लागि मानव अधिकारको संरक्षण, अल्पसंख्यक समुदायको सुरक्षा र समावेशी राजनीतिक परिवर्तनलाई प्रमुख सर्त बनाएको छ ।


