Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार | (रासस)

भोजपुर, २५ कात्तिकः भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे  हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई प्राथमिकताका साथ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

    सडक कालोपत्र भएपछि गाउँपालिकावासीमा उत्साह थपिएको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्याङका स्थानीयवासी राजकुमार तिवारीले बताउनुभयो । सडक कालोपत्र बनेपछि आवतजावत सहजतासँगै नागरिकको दैनिकीमा परिवर्तन आएको उहाँको भनाइ छ ।

    “तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र भएपछि जनजीवनमा परिवर्तन ल्याएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले गरेको यो काम प्रशंसनीय छ । यो सडकले गाउँपालिकाको सम्पूर्ण भूभागलाई छोएकाले यहाँ उत्पादन हुने कृषि उपजलेसमेत राम्रो बजार पाउने अपेक्षा गरेका छौँ ।”

    तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये गाउँपालिका केन्द्र च्याङ्गेसम्म करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सडकलाई दुई प्याकेजमा विभाजन गरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । तिवारीभञ्याङको शून्य विन्दुबाट वडा नं २ स्थित स्वास्थ्यचौकीसम्म पहिलो प्याकेज र स्वास्थ्यचौकीबाट गाउँपालिका केन्द्र च्याङ्गेसम्म दोस्रो प्याकेजमा सडक कालोपत्र सम्पन्न गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष किरण राईले उक्त सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको बताउनुभयो । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्गका रूपमा रहेको यस सडकलाई महत्वका साथ कालोपत्र गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

    “यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो”, अध्यक्ष राईले भन्नुभयो, “भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । आगामी दिनमा अँधेरीघाटसम्मको ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य लिएका छौँ । हाल च्याङ्गेसम्मको सडक कालोपत्र सम्पन्न भएको छ ।”

    सडक कालोपत्रले गाउँपालिकाको भौतिक पूर्वाधार विकासमा थप टेवा पुग्नुका साथै कृषि उत्पादनको बजारीकरण, स्थानीयको आवतजावत र आर्थिक गतिविधिमा सहजता थपेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्र भएपछि बाँकी सडकखण्डलाईसमेत स्तरोन्नति गर्दै पूर्ण रूपमा कालोपत्र गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan