बैङ्क अफ इङ्ग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण ब्याजदर वृद्धि गर्ने निर्णय
बैङ्क अफ इङ्ग्ल्यान्डले सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाएको छ ।
बेलायतको केन्द्रीय बैङ्कले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पु¥याएको हो ।
यो तीन वर्षभन्दा बढी समयपछिको पहिलो वृद्धि हो । ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाएको अवस्थामा यो कदम चालिएको बैङ्कले जनाएको छ ।
केन्द्रीय बैङ्कले ऋण लागतलाई २५ प्रतिशत अङ्कले बढाएको छ । मध्य पूर्व द्वन्द्व सुरु भएदेखि ब्याजदर बढाउने क्रममा यसले अमेरिकी फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैङ्कलाई पछ्याएको छ ।
युक्रेनले रूसी इन्धन प्रशोधन गृहहरूमा आक्रमण गरेको र अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रको ऊर्जा आपूर्तिमा बाधा पुगेकाले विश्वभर डिजेलको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको छ।
“ऊर्जा मूल्यमा भएको वृद्धिका कारण अब पर्याप्त मुद्रास्फीति हुने सम्भावना बढेको छ, जसले बैङ्कलाई ब्याज दर बढाउनु आवश्यक छ,” बैङ्क अफ इङ्ग्ल्यान्डका गभर्नर एन्ड्र्यु बेलीले एक विज्ञप्तिमा भन्नुभयो ।
बेलीले भन्नुभयो, “आजको वृद्धि अपरिहार्य रूपमा लामो समयसम्म हुने वृद्धि श्रृङ्खलाको पहिलो कदम हो भनेर बुझ्नु हुँदैन । मध्य पूर्वको द्वन्द्व समाधान नभएसम्म यो अन्तिम वृद्धि पनि हुने सम्भावना देखिँदैन।”
मुद्रास्फीति बढिरहेको भए पनि बैङ्कले सन् २०२६ र सन् २०२७ का लागि बेलायती आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ । केन्द्रीय बैङ्कले अब यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) १.६ प्रतिशत र अर्को वर्ष १.३ प्रतिशत हुने अनुमान गरेको छ । जुलाईमा उसले दुवै वर्षका लागि १.१ प्रतिशत जीडीपी वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
बैङ्क अफ इङ्ग्ल्यान्डले पछिल्लो पटक सन् २०२३ अगस्टमा प्रमुख ब्याजदर बढाएको थियो र डिसेम्बरदेखि ऋण लागत ३.७५ प्रतिशतमै राखेको थियो । सेप्टेम्बरमा बेलायतको वार्षिक मुद्रास्फीति दर अपेक्षाभन्दा बढी बढेर ३.५ प्रतिशत पुगेको थियो, जुन बैङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि छ ।
बैङ्क अफ इङ्ग्ल्यान्डले बिहीबार आफ्नो मुख्य प्रक्षेपणमा बेलायती मुद्रास्फीति अर्को वर्षको दोस्रो त्रैमासिकमा ४.९ प्रतिशतसम्म पुग्ने बताएको छ । सरकारले गत साताको वार्षिक बजेट घोषणामा केही सहयोग दिए पनि अर्को वर्षको सुरुदेखि नै लाखँैं बेलायती नागरिकले इन्धन तथा उर्जा क्षेत्रको बिलमा वृद्धि भोग्नुपर्ने अवस्था छ ।


