Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | लोकेश धामी / रासस
newsabhiyan

काठमाडौँ, १९ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरुआती चरणमा नेपाली खेलाडीबाट प्रभावशाली प्रदर्शन भइरहेको छ । 

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।

यसअघिका संस्करणमा सुरुआती चरणदेखि नै विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेको थियो । तर, यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडिरहेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

ब्याटिङतर्फ विराटनगर किङ्समा आबद्ध नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को उत्कृष्ट ‘स्ट्राइक रेट’मा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतकीय पारी खेलेका छन् ।

विराटनगरको पछिल्लो लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्वपूर्ण रह्यो । आक्रामक शैलीमा ब्याटिङ गरिरहेका उनले छोटो समयमा ठूलो ‘स्कोर’ बनाउन सक्ने क्षमता देखाएका छन् ।  

सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा विराटनगरकै वेष्ट इण्डिजका चर्चित अलराउण्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । रसेलजस्ता अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीसँगै नेपाली ब्याटरले शीर्ष स्थानमा प्रतिस्पर्धा गर्नु प्रतियोगिताको सकारात्मक पक्षका रूपमा देखिएको छ ।

यस संस्करणमा लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले अहिलेसम्म १०३ तथा इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पु¥याउन थालेका छन् ।

विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरी एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताउनुहुन्छ । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत रहेको उहाँको भनाइ छ ।

“जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । ‘प्लेयर अफ दी म्याच अवार्ड’ जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो,” पूर्वराष्ट्रिय क्रिकेटर पनि रहनुभएका चौधरीले रासससँग भन्नुभयो ।

ब्याटिङमा मात्रै होइन बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् ।

सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै ब्याटिङ र बलिङ दुवैमा जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्वपूर्ण बनेको छ ।
    
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङल्याण्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् ।  

यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६.१२ को सानदार इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ ।

जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्वपूर्ण रहेको छ ।

कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ दी म्याच’ पनि घोषित भइसकेका छन् ।

अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएका राहुलले देखाएको आत्मविश्वास र प्रदर्शन नेपाली क्रिकेटको भविष्यका लागि पनि सकारात्मक सङ्केत रहेको जनकपुरमा आबद्ध इङल्याण्डका चर्चित अलराउन्डर मोइन अलीले बताउनुभयो । उहाँले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमा पनि दिनुभएको छ ।

विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय स्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । प्रतियोगितामा नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको सङ्केत दिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ ।”

नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वछनोट समितिका संयोजकसमेत रहनुभएका चौधरीले जारी प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गर्नुभयो । पूरा ‘सिजन’मा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan