समाजलाई अति दलीयकरणबाट मुक्त गरौँः सचेतक परियार
काठमाडौँ, १७ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताउनुभएको छ ।
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उहाँले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याउनुभयो ।
अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको बताउँदै उहाँले मुलुकको युवा बर्गलाई सामाजिक विकास, उद्यमशीलता र राष्ट्रको हर क्षेत्रको नेतृत्वदायी भूमिकामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सचेतक परियारले भन्नुभयो, “समाज अति दलीयकरणको मारमा परेको छ, कम्तिमा पनि सामाजिक पछ्यौटेपनका विरुद्धमा लागिरहेका अगुवा सङ्घसंस्थाले आफूलाई यस्तो छाँयाबाट परै राख्न सकेमा समाजको गतीशीलता अझ बढ्दै जान्छ ।
मुलुकको बृहत्तर हितका लागि यो अब आवश्यक भइसकेको छ ।” सचेतक परियारले मुलुकको युवा बर्गलाई आफ्ना योग्यता र क्षमताअनुसार उद्यमशीलता र सिर्जनशीलताको अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।
जेसिजजस्ता संस्थाले नेपालको सामाजिक जागरण एवं युवा परिचालनका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आफू पनि जेसीज अभियानको एउटा अङ्ग हुन पाएकामा गौरव महसुस गरेको धारणा उहाँले राख्नुभयो ।
त्यस अवसरमा तरहरा जेसीजका पूर्वअध्यक्ष, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जेसीजका सदस्य एवं स्थानीय समाजसेवीले जेसिज जागरण र सामाजिक अभियानका बारेमा चर्चा गर्नुभएको थियो । सो कार्यक्रममा सचेतक परियारले त्यहाँ आयोजित प्रतियोगिताका विजयी सुरज तामाङ र प्रतिमा चौधरीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

