घरको माया नपाउँदा बालश्रम र बेचबिखनमा पुग्न बाध्य बालबालिका
काठमाडौँ, १७ कात्तिकः आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम पाउन साथी खोज्न थालिन् ।
सामाजिक सञ्जाल फेसबुकबाट साथी त पाइन् । तर, त्यही साथीले भारतसम्म पुर्याउला भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । भारतको विहारस्थित एउटा कोठामा बन्दी भएकी उनी बालिकालाई ‘साथसाथ’ संस्थाले उद्धार गरी नेपाल ल्याएको थियो ।
परिवारमा एक्लोपन भोगेर मायाको खोजीमा भारतसम्म पुग्न बाध्य भएकी ती बालिका भन्छिन्, “मैलेजस्तै मायाको प्रलोभनमा परी घर छोडेर कुनै बालबालिका कतै जान नपरोस्”,
यस्तो हुन नदिन अभिभावक नै धेरै जिम्मेवार र सचेत हुनुपर्ने उनले सुनाइन् । उनलाई उद्धार गर्न खटिएकी अधिवक्ता रसना ढकालका अनुसार परिवारको माया र हेरचार नपाउँदा अधिकांश बालबालिका मानवबेचबखिनको चक्रब्युँहुमा फस्न बाध्य भएका छन् ।
खासगरी बालिकामाथि हुने यौन शोषण र बेचबिखन अझै डरलाग्दो देखिएको उहाँले बताउनुभयो । ‘साथसाथ’ संस्थाले यो वर्ष दुई जना बालबालिकालाई बेचबिखन हुनुबाट जोगाइ परिवार समक्ष पुनर्मिलन गराएको छ ।
संस्थाका अध्यक्ष सुचिता शाहले सडक बालबालिकाको स्थिति हेर्दा परिवारको माया नपाएर अभिभावकविहीन भएका बालबालिका सडकमा आउन बाध्य भएको बताउनुभयो । उहाँले नेपालमा पाँच हजारभन्दा बढी बालबालिका सडकमा बसोबास गर्ने र जीविकोपार्जनका लागि काम गर्ने अवस्था देखिएको बताउनुभयो ।
“सडकका बालबालिका बेचबिखनको उच्च जोखिममा पर्छन्”, उहाँले भन्नुभयो, “उनीहरु प्रायः बालश्रमका सबैभन्दा निकृष्टस्वरुप तथा विभिन्न प्रकारका शोषणको सिकार हुने गरेका छन् ।”
साथीको सङ्गतमा लागेर कञ्चनपुर हुँदै भारततर्फ लागेकी अर्की बालिकाको पनि संस्थाले बीचैमा उद्धार गरेको अध्यक्ष शाहले बताउनुभयो । घर छोडेर भाग्नुको कारण बुझ्दै जाँदा पीडित बालबालिकाले परिवारमा आफूले आमाबुबाको माया, हेरचाह र स्नेह नपाएको गुनासो पोख्ने गरेको अध्यक्ष शाहले बताउनुभयो ।
पछिल्लो समय सूचनाप्रविधिको विकासले बालबालिकाप्रति आमाबुबाको समय नपुग्नु र डिजिटल प्रलोभनमा परेर घरपरिवार छोड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार देशभर हराएका पाँच हजार ६९ जना बालबालिका (बालक एक हजार ३५३ र बालिका तीन हजार ७१६) को खोजतलास गरिएकोमा चार हजार ४५६ जना (बालक एक हजार २१० र बालिका तीन हजार २४६) फेला परी परिवारसँग पुनः मिलन गराइएको छ ।
बेवारिसे अवस्थामा फेला परेका १८४ जना बालबालिका (बालक १०५ र बालिका ७९) को उद्धार गरी परिवारको खोजतलास गरिएकोमा १०७ जनाको परिवार पहिचान भई पारिवारिक पुनर्मिलन गराइएको तथा परिवार पहिचान हुन नसकेका ७७ जनालाई बालगृहमा अस्थायी संरक्षा सेवा प्रदान गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ ।
तथ्याङ्कअनुसार ११५ जना सडक बालबालिका (बालक ८७ र बालिका २८) को उद्धार गरी संरक्षण व्यवस्थापन गरिएकोमा ३१ जनाको परिवार पहिचान गरी पारिवारिक पुनर्मिलन गराइएको र ८४ जनालाई अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ । हिंसा तथा जोखिममा परेका ५२८ जना बालबालिका(बालक २०३ र बालिका ३२५) को तत्काल उद्धार तथा पुनःस्थापना गरिएको छ ।
साथै, पाँच हजार ८८० जना बालबालिकालाई बाल हेल्पलाइनमार्फत जोखिम तथा हिंसासम्बन्धी मनोविमर्श, कानुनी परामर्श तथा आवश्यक अन्य सहयोग उपलब्ध गराइएको छ ।
यस अवधिमा १० वटा संस्थालाई बालगृह सञ्चालन अनुमति प्रदान गरिएको छ भने २६ वटा बाल गृहहरुको सञ्चालन अनुमति नवीकरण गरिएको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयको वर्ष २०८२ को तथ्याङ्कमा मानव बेचबखिन तथा ओसारपसारबाट उद्धार गरिएका ११ जना बालक र ९४ जना बालिका गरी १०५ बालबालिका रहेका छन् ।
त्यसैगरी लागुऔषध प्रयोग तथा ओसारपसारबाट पीडित तथा उद्धार र नियन्त्रणमा ३१ जना बालबालिका रहेका छन् ।

