स्थानीय जनशक्ति नभएपछि तराईका जिल्लाको भर पर्दै हेटौँडाका किसान
बागमती, १५ कात्तिकः कृषिप्रतिको अनिच्छा, युवाहरूको पलायनलगायत कारणबाट स्थानीय जनशक्ति कम हुँदै जान थालेपछि हेटौँडाका किसानहरू तराईको जिल्लाबाट आएका मजदुर लगाएर धान भित्र्याउने गरेका छन् ।
विगत केही वर्ष यता तराईको सर्लाही, बारालगायत जिल्लाबाट धान रोप्नेदेखि भित्र्याउने समयमा आउने मजदुरको भर पर्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् । हेटौँडाको कमाने, चौघडा, चुच्चेखोला, हटिया लगायतका क्षेत्रमा तराईका जिल्लाबाट आएका मजदुरले धान भित्र्याउन सहयोग गरिरहेको स्थानीयवासी श्रीप्रसाद न्यौपानेले बताउनुभयो ।
विशेष गरी धान लगाउने र भित्र्याउने समयमा सर्लाही, बारा, पर्सालगायत जिल्लाबाट आउने मजदुरले सहयोग गर्ने गरेको बताउँदै उहाँले स्थानीय जनशक्ति नहुँदा बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
तराईबाट मजदुरहरू समूहमा आउने भएकाले काम लगाउन पनि सजिलो हुने गरेको उहाँको भनाइ छ । पछिल्ला वर्षमा स्थानीय युवाहरू अधिकांश रोजगारीका लागि विदेश जान थालेपछि अझै जनशक्ति अभाव बढ्दै गएको उहाँले बताउनुभयो ।
“तराईबाट आउने मजदुरहरू धान भित्र्याउने समयमा करिब एक महिना बसेर काम सकेर जाने गर्दछन्”, उहाँले भन्नुभयो, “समूूहमा आउने भएकाले उनीहरूलाई काम लगाउन पनि सजिलो हुने गरेको छ ।” तराईबाट आएका मजदुरले धान काट्ने, उठाउने, बोक्ने र झार्ने सबै काम गरिदिने भएकोले आँफूहरूलाई ठूलो सहयोग पुगेको अर्का स्थानीय हरि ढकालले बताउनुभयो ।
धानको काम गरेवापत समान्यतः प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले लिने गरीएको सर्लाहीका रेशम शाहले बताउनुभयो । आँफूहरू विगत केही वर्ष यता धान भित्राउने समयमा समूहमा हेटौँडा आउने गरेको बताउँदै उहाँले करिब एक महिनामा धानको काम सकिएपछि घर फर्कने गरेको जानकारी दिनुभयो ।

