तीन वर्षको युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान
इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गरिरहेका छन् ।
इजरायलको नेतृत्व कसले गर्ने र देशको सुरक्षा कसले सुनिश्चित गर्न सक्छ भन्ने विषयमा मतदाताहरू विभाजित छन् । नेतान्याहूलाई सत्ताबाट हटाउन चाहने विभिन्न दलले चुनौती दिएका छन् । जनमत सर्वेक्षणहरूले उहाँ र पूर्व सैन्य प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने सङ्केत गरेका छन् । निर्वाचनमा ७० लाखभन्दा बढी मतदाता सहभागी हुन योग्य छन् ।
“यो निकै भावुक र निर्णायक क्षण हो,” मतदानपछि नेतान्याहूले भन्नुभयो । उहाँले अरब समुदायका मतदाता ठूलो सङ्ख्यामा मतदान केन्द्रमा पुगिरहेको उल्लेख गर्नुभयो । अर्कोतर्फ, आइजेनकोटले मतदातालाई नेतान्याहूको डर देखाउने रणनीतिबाट प्रभावित नहुन आग्रह गर्नुभयो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मध्याह्नसम्म ३१ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरिसकेका थिए । सन् १९७३ यताका निर्वाचनमा मध्याह्नसम्मको यो सबैभन्दा उच्च मतदान दर हो ।
इजरायलभित्र निर्वाचनको मुख्य मुद्दा राष्ट्रिय सुरक्षा र देशको रक्षाका लागि उपयुक्त नेतृत्व चयन गर्नु हो । अन्तरराष्ट्रिय रूपमा भने गाजामा जारी युद्ध र वेस्ट बैंकमा यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाका कारण इजरायलको प्रतिष्ठा र विश्वभरका यहुदीहरूको सुरक्षाबारे चिन्ता बढेको छ ।
सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने
इजरायलको विभाजित संसदीय राजनीतिमा कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना कम छ । नेतान्याहूको धार्मिक तथा अतिराष्ट्रवादी गठबन्धन र उहाँलाई सत्ताबाट हटाउन चाहने दलहरू दुवैले बहुमत जुटाउन नसके सरकार गठनका लागि लामो वार्ता हुन सक्छ ।
अरब समुदायको नेतृत्वमा रहेका दलहरू सरकार गठनमा निर्णायक बन्न सक्ने सम्भावना छ । इस्लामवादी राआम पार्टीका प्रमुख मन्सुर अब्बासले आफ्नो दलको मतले सरकार परिवर्तन गर्न सक्ने बताउनुभयो । उहाँले अरब समुदायमा मतदान गर्नेहरूको सङ्ख्या ७० प्रतिशतभन्दा बढी पुग्ने आशा व्यक्त गर्नुभयो । इजरायलको कुल जनसङ्ख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ ।
अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले नेतान्याहूको गठबन्धन पराजित भएमा अब्बासको प्रभावमा सरकार बन्न सक्ने चेतावनी दिनुभएको छ ।
यसैबीच, इजरायलको नागरिक अधिकारसम्बन्धी एक संस्थाले मतदानमा भइरहेको ढिलाइले प्यालेस्टिनी मूलका इजरायली नागरिकको मतदान अधिकार प्रभावित हुन सक्ने भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
सुरक्षा र सैन्य सेवा प्रमुख चुनावी मुद्दा
सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलमा हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचन हो । उक्त आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो । तेल अभिभमा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवार र पूर्वबन्धकहरूले मृतकको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए ।
आइजेनकोटले निर्वाचनको दिन गाजानजिकका आक्रमण प्रभावित समुदायहरूको भ्रमण गर्नुभएको थियो । उहाँका छोरा र दुई भतिजा गाजामा मारिएका थिए । उहाँले वर्तमान सरकारलाई हटाउन मतदान गर्न आह्वान गर्दै इजरायलका लागि यो निर्णायक दिन भएको बताउनुभयो ।
निर्वाचनमा राष्ट्रिय सुरक्षा, अनिवार्य सैन्य सेवा, न्यायपालिकाको स्वतन्त्रता र सरकारको जवाफदेहिता प्रमुख मुद्दा बनेका छन् । नेतान्याहूका समर्थकहरूले उहाँलाई युद्धको समयमा देशलाई नेतृत्व दिन सक्ने अनुभवी राजनीतिज्ञका रूपमा हेर्छन् । उहाँका आलोचकहरूले भने भ्रष्टाचारसम्बन्धी मुद्दा, न्यायपालिकामाथिको दबाब र अति अर्थोडक्स यहुदीहरूलाई अनिवार्य सैन्य सेवाबाट छुट दिने व्यवस्थाको आलोचना गर्दै आएका छन् ।
आइजेनकोटका समर्थकहरूले उहाँलाई सुरक्षा क्षेत्रमा अनुभव भएको र इजरायलको अन्तरराष्ट्रिय सम्बन्ध सुधार गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरेका छन् । उहाँसँग सहकार्य गर्न सक्ने दलहरूले न्यायपालिकाको स्वतन्त्रता बलियो बनाउने र अति अर्थोडक्स पुरुषलाई पनि अनिवार्य सैन्य सेवामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।

