ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
रुसी कब्जामा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता पुर्याउन र इच्छुक बासिन्दालाई सुरक्षित स्थानमा जान सहयोग गर्ने उद्देश्यले मङ्गलबार बिहानदेखि सीमित क्षेत्रको युद्धविराम लागू भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले मध्यस्थता गर्नुभएको युद्धविराम प्रभावकारी भए–नभएको भने स्वतन्त्र पुष्टि भएको छैन ।
रुस र युक्रेनले स्थानीय समयअनुसार बिहान ३ बजेदेखि युद्धविराम पालना गर्ने बताएका छन् । रुसी रक्षा मन्त्रालयले खेरसन क्षेत्रमा गोलीबारी रोकिएको जनाएको छ भने युक्रेनका मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले सहमति पालना भइरहेको बताउनुभएको छ । तर, किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी भएको थियो र एउटा प्रमुख पुलमा आक्रमण हुँदा मेट्रो पूर्वाधारमा क्षति पुगेको मेयर भिटाली क्लिट्स्कोले बताउनुभएको छ ।
सन् २०२२ मा रुसी सेनाले कब्जा गरेको ओलेस्कीमा युद्धअघि करिब २४ हजार मानिस बसोबास गर्थे । अहिले त्यहाँ करिब दुई हजार मानिस मात्र बाँकी रहेको अनुमान छ र तीमध्ये ५० जना बालबालिका छन् । खाद्यान्न र औषधिको अभाव झेलिरहेका उनीहरू सहर छाड्नसमेत कठिनाइ भोगिरहेका छन् । केही बासिन्दा परेवा सिकार गरेर र बगैँचामा उपलब्ध खानेकुराको भरमा गुजारा गर्न बाध्य छन् । पूर्वबासिन्दा ओल्गाका अनुसार त्यहाँ रोटी बनाउन आवश्यक पिठोसम्म बाँकी छैन ।
मेलानिया ट्रम्पले सहर छाड्न चाहने बासिन्दालाई उनीहरूले रोजेको गन्तव्यसम्म पुग्न यातायात र सहयोगको व्यवस्था गरिने बताउनुभएको छ । तर, युद्धविरामको अवधि, निगरानी र सहायता वितरणको प्रक्रियाबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन । युक्रेनले रुसमाथि बासिन्दालाई बाहिरिन नदिएको आरोप लगाए पनि मस्कोले त्यसलाई अस्वीकार गरेको छ ।
युद्ध र सन् २०२३ मा काखोभ्का बाँध भत्किएपछि आएको बाढीले ओलेस्कीमा ठूलो क्षति पु¥याएको छ । युक्रेनी सेनाले सार्वजनिक गरेका ड्रोन दृश्यमा क्षतिग्रस्त आवासीय भवन देखिएका छन् । सेनाले बाँकी बासिन्दालाई खाना र औषधि पु¥याउन ड्रोन प्रयोग गरेको जनाएको छ ।
युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला भएको यो युद्धविरामपछि रुस, युक्रेन र अमेरिकाबीचको शान्ति वार्ता नोभेम्बरमा पुनः सुरु हुने तयारी छ । सन् २०२२ फेब्रुअरीमा रुसले पूर्णस्तरको आक्रमण थालेयता ठूलो सङ्ख्यामा सैनिक र सर्वसाधारणको मृत्यु भएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् । रुसले युक्रेनको करिब पाँच भागको एक भाग नियन्त्रणमा राखेको छ ।

