Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा : संयुक्त राष्ट्रसङ्घ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | (रासस/एएफपी)

रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार नागरिक ऊर्जा पूर्वाधारमा रुसी आक्रमणका कारण विद्युत्, ताप आपूर्ति र खानेपानी प्रणाली प्रभावित हुँदा नागरिकको जनजीवन कठिन बन्दै गएको छ ।

आईओएमका युरोप तथा मध्य एसियाका क्षेत्रीय निर्देशक आर्थर एर्केनले आगामी जाडोयाम युद्ध सुरु भएयताकै कठिन हुन सक्ने बताउनुभएको छ । उहाँका अनुसार अवस्था बिग्रँदै जाँदा लाखौँ मानिसले फेरि घर छाड्नुपर्ने परिस्थिति आउन सक्छ ।

आईओएमका अनुसार युक्रेनभित्र करिब ३६ लाख मानिस अझै आन्तरिक रूपमा विस्थापित छन् भने करिब ३८ लाख मानिस घर फर्किएका छन् । घर फर्किएकामध्ये करिब १४ लाख ५० हजार जना अग्रपङ्क्तिका जिल्लामा बसोबास गरिरहेका छन् । तीमध्ये पाँच लाख ६५ हजार जना खार्किभ क्षेत्रमा छन् ।

खानेपानी प्रणाली विद्युत्मा निर्भर भएकाले ऊर्जा आपूर्ति अवरुद्ध हुँदा पानीको संकटसमेत गम्भीर बन्न सक्ने आईओएमले जनाएको छ । यस समस्यालाई कम गर्न संगठनले युक्रेनमा ३१ वटा सौर्य ऊर्जा केन्द्र स्थापना गरेको छ ।

त्यस्तै, अपार्टमेन्ट भवनमा एक्लै बस्ने करिब २१ लाख वृद्धवृद्धा लामो समयसम्म विद्युत् र ताप आपूर्ति बन्द भएमा मानवीय संकटमा पर्न सक्ने चेतावनी दिइएको छ ।

युक्रेनको अवस्था थप बिग्रिएमा पोल्यान्ड, जर्मनी र चेक गणतन्त्रमा शरणार्थीको आगमन बढ्न सक्ने सम्भावना छ ।

आईओएमका अनुसार सन् २०२६ को युक्रेन संकट प्रतिकार्य योजनाका लागि आवश्यक रकमको सात प्रतिशतभन्दा कम मात्र प्राप्त भएको छ । संगठनले मानवीय सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोग गर्न आह्वान गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan