हात्ती मारेको अभियोगमा पक्राउ
सप्तरी, ३० असोजः हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।
नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन् । हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोष्टमार्टम भइरहेको छ ।” हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडेको हुनसक्ने आशङ्का गरिएको छ ।
हात्ती मरेको कारणबारे तत्काल खुल्न नसकेको र अनुसन्धान भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई उद्धृत गर्दै डिभिजन प्रमुख ठाकुरले बताउनुभयो ।

