Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

म्याग्दी, २९ असोजः म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको छ ।

    भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

    अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । “घर भत्किएका र बस्न नमिल्ने घरका २२७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ,” उहाँले भन्नुभयो ।

    गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घारखोला, नेपाने, पाउद्वार, घिरवाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षति गरेको छ । नेपानेका बासिन्दा पूर्ण पाइजाका अनुसार सडकको अवस्था दयनीय छ, हिँड्न पनि सास्ती भइरहेको छ ।

    “पाउद्वार र घार गाउँ जोड्ने पैदलमार्गमा खसेको पहिरो पन्छाएर सामान्य आवतजावत गर्न मिल्ने बनाइएको छ,” वडा सदस्य पनि रहेका पाइजाले भन्नुभयो, “तर खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन ।”

    वडाध्यक्ष पुनका अनुसार २०० भन्दा बढी घर रहेका पाउद्वारका चार वटा टोलमा यसअघि १७० परिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार अहिले घार र शिखमा आश्रय लिएर बसेका छन् ।

    घारस्थित अस्थायी आश्रयस्थलमा बस्दै आउनुभएका वीरबहादुर तिलिजालाई आफ्नो थातथलोमा फर्किएर बस्न पाइने हो वा होइन भन्ने चिन्ताले सताएको छ । पहिरोले गाउँ घेरेपछि अन्यत्र जाने बाटो नभएपछि हेलिकप्टरबाट उद्धार हुनु परेको उहाँले बताउनुभयो ।

    “पहिरोले गाउँ घेरेपछि कतै जाने ठाउँ नपाएर हेलिकप्टरबाट उद्धार भई शिविरमा बस्दै आएका छौँ । अब त्यो ठाउँमा बसाइ होला भन्ने चिताएको छैन,” उहाँले भन्नुभयो, “हिउँदमा राम्रो देखिए पनि आउने बर्खामा अहिलेको भन्दा धेरै दुःख पाइने निश्चित छ ।” गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता स्थानीय छन् ।

    यसैबीच, गाउँलेले श्रमदान गरेर पदमार्ग, विद्युत् लाइन र खानेपानीका संरचना मर्मत गर्न थालेका छन् । पाउद्वारका बासिन्दा जसे पुनका अनुसार पछिल्लो तीन दिनदेखि डाँडागाउँ र माझगाउँ टोलका बासिन्दाले श्रमदान गरेर पर्यटकीयस्थल खोपरा जाने लरेनीसम्मको पदमार्ग सञ्चालनमा ल्याएका छन् ।

    पाउद्वाबाट नेपाने, किन्दु र घारतर्फ जोड्ने पदमार्ग पनि मर्मत गर्न थालिएको छ । पदमार्ग सञ्चालनमा आएपछि खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको स्थानीय अस्मि तिलिजा पुनले बताउनुभयो । माझगाउँका बासिन्दाले विद्युत् लाइन मर्मतका लागि पनि श्रमदान अभियान सञ्चालन गरेका छन् ।

    पहिरोमा पुरिएको ‘ट्रान्सफर्मर’ निकालेर नयाँ जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो । विद्युत् सेवा र पदमार्ग पुनः सञ्चालन गर्ने प्रयाससँगै गाउँको जोखिम अवस्थाबारे अध्ययन गर्न पनि पहल गरिएको छ । 

    उपाध्यक्ष पुनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भूगर्भविद् पठाइदिन अनुरोध गरिएको छ । पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan