भोटेकोशी बाढीपीडित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद सहायता
काठमाडौं । भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिघरधुरी ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन र वास्तविक प्रभावित परिवारसम्म सहायता पुर्याउन स्थानीय तहले पहिचान गरेका लाभग्राहीलाई रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।
सरकारका अनुसार रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी तीन जिल्लाका ११ वटा स्थानीय तहका बाढीपीडित परिवारले उक्त सहायता प्राप्त गरिसकेका छन्।
तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र नगद सहायता वितरण गरिसक्ने सरकारको तयारी छ।
गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टहरूको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको तथ्यांक प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित बनाउने निर्णय गरेको थियो।
रेडक्रस लगायत अन्य विकास साझेदार संस्थाहरूले समेत बाढीपीडितलाई नगद सहयोग गर्न चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ।
राहत वितरण गर्दा कुनै पनि प्रभावित परिवार दोहोरो सहायता पाउने वा वास्तविक लाभग्राही सहयोगबाट वञ्चित हुने अवस्था आउन नदिन आवश्यक समन्वय र प्रमाणीकरणमा जोड दिइएको छ।
यसैबीच, बाढीबाट प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि सरकारले काम तीव्र बनाएको जनाएको छ। तत्कालीन राहतसँगै प्रभावित परिवारलाई सुरक्षित आवास र सामान्य जनजीवनमा फर्काउन आवश्यक व्यवस्थापन गर्नु सरकारका लागि अर्को महत्वपूर्ण चुनौती बनेको छ।

