Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि ...

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | रासस

 लमजुङ, २७ असोजः कुनै समय घटस्थापनासँगै लमजुङका गाउँबस्तीमा नगरा घन्किन्थ्यो ।  नगरा बजाउँदै घरघर पुग्ने चलनले दसैँ आएको सङ्केत दिन्थ्यो र गाउँमा चाडपर्वको रौनक थपिन्थ्यो । पछिल्लो समय नगरा बजाउने चलन हराउँदै जाँदा दसैँसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा नै सङ्कटमा पर्न थालेको छ । 

    लमजुङको सदरमुकाम बेँसीसहर नगरपाालिका–३ गाउँसहरस्थित लमजुङ दरबार परिसरमा रहेको कालिका मन्दिरमा भने घटस्थापनादेखि नगरा बजाउने परम्परा अझै कायम छ । 

    मन्दिरका मुख्य पुजारी सोमराज बरालका अनुसार तत्कालीन दरबारसँगै कालिका मन्दिर स्थापना भएको थियो । दरबारमा सुरु भएको नगरा बजाउने परम्परा पछि गाउँबस्तीमा फैलिएको उहाँले बताउनुभयो । 
 
    मन्दिरमा घटस्थापनादेखि बिहान र बेलुका नगरा बजाइन्छ । बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा न्वागी खाने दिनमा यसको विशेष महत्व रहने मुख्य पुजारी बरालले बताउनुभयो । 
 
    उहाँका अनुसार दरबारमा मङ्गलधुनको लयमा नगरा बजाइने भए पनि गाउँबस्तीमा स्थानीय चलनअनुसारका फरकफरक हुने गर्दथ्यो । 

    “पहिले नगरा बजाउन जान्ने मानिस धेरै थिए, अहिले यो सीप भएका मानिस घट्दै गएका छन”, उहाँले भन्नुभयो, “नगरा बजाउन सिक्न समय लाग्छ र बाजासमेत महँगो पर्ने भएकाले नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको छ ।” 

    उहाँले परम्परालाई निरन्तरता दिन युवालाई सीप सिकाउनुका साथै सरकारीस्तरबाट संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 
    बेँसीसहर नगरपालिका–१ उदिपुरका स्थानीय कृष्णप्रसाद अधिकारीका अनुसार उदिपुर क्षेत्रमा अहिले नगरा बजाउन जान्ने मानिस दुई–तीन जना मात्रै बाँकी छन् । 

    बेँसीसहर नगरपालिका–३ बोहोराबेँसीका स्थानीय राजेन्द्र बोहोराका अनुसार केही वर्षअघिसम्म बोहोराबेँसी, बेँसी र बकुण्डे गाउँमा नगरा बजाउने टोली घरघर पुग्थ्यो । अहिले भने त्यो चलन हराउँदै गएको छ । नगरा बजाउने टोली गाउँमा देखिन छाड्नु र त्यसको आवाज सुनिन छाड्नुले दसँैको पुरानो परम्परा खण्डित बन्दै गएको उहाँको भनाइ छ । 

    मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका स्थानीय लोकनाथ घिमिरेले पनि पहिले गाउँमा नगरा बजाउने चलन रहे पनि केही वर्षयता यसको आवाज सुन्न नपाइएको बताउनुभयो । 
 
    “नगरा बजेको सुन्दा दसैँ आएको अनुभूति हुन्थ्यो”, उहाँले भन्नुभयो ।  बेँसीसहर नगरपालिका–३ मोतिराम परियारकाअनुसार नगरा बजाउने परम्परा परियार समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ ।

    विगतमा दसैँका बेला घरघर पुगेर नगरा बजाउने र त्यसबापत घरधनीबाट अन्न तथा पशु काटेपछि मासु पाउने चलन रहेको उहाँले स्मरण गर्नुभयो । पुरानो पुस्ताका धेरैको निधन हुनु, उमेरका कारण कतिपयले नगरा बजाउन नसक्नु र युवापुस्ताको चासो घट्नुले परम्परा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँसहरको कालिका मन्दिरमा नगरा बजाउने परम्परा कायम रहे पनि गाउँबस्तीमा यसको अभ्यास खुम्चिँदै गएको छ । 

    दसैँको आगमनसँगै जोडिएको यो सांस्कृतिक परम्परा जोगाउन नगरा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । पुरानो पुस्ताको ज्ञान र सीपको संरक्षण गर्दै युवाको सहभागिता बढाउनसके मात्रै नगरा बजाउने परम्परालाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan