Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | रासस

 नारायणगढ (चितवन), २७ असोजः सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ ।
    
    बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम तीव्र पारिएको हो ।

    सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष बाढी, पहिरो र वर्षाका कारण विभिन्न स्थानमा सडकमा क्षति पुगेकाले चाडपर्वलाई ध्यानमा राखेर मर्मतको काम तीव्र पारिएको हो । उहाँले सडक मर्मत नियमित काम भए पनि यस वर्ष थप प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो ।

    “हामी नियमित रुपमा सडक मर्मत गर्छौं । यस वर्ष चाडपर्वलाई लक्षित गरी कामलाई तीव्रता दिएका छौँ । यात्रुलाई सहज रूपमा यात्रा गर्नसक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो । 

    उहाँका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडकखण्डका साथै नवलपुर–पाल्पा–कालीगण्डकी करिडोरमा नियमित मर्मत भइरहेको छ । तीमध्ये धेरै स्थानमा मर्मतको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

    सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको आवागमन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुग्ने गरेको आचार्यले बताउनुभयो । उहाँले सडकको क्षति कम गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्नुभयो ।

    कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडक मर्मत गरिरहेको छ । हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गरी आवश्यकताअनुसार इमल्सन प्याच प्रविधिसमेत अपनाएर सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan