बूढीगण्डकी बाढी : पाँच जना बेपत्ता, उद्धारका लागि ४३७ सुरक्षाकर्मी परिचालन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आवश्यक कदम अघि बढाएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको र पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको उल्लेख गर्दै बेपत्ताको खोजी कार्य तीव्र पारिएको जानकारी दिएका हुन्।
बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरहरू बगाएको छ।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी हाइड्रोमा कार्यरत १२ कर्मचारीसहित ४८ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत सूचना पठाएको थियो।
त्यस्तै, गोरखा, धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई बाढीसम्बन्धी पूर्वसूचना दिन दुई चरणमा करिब दुई लाख एसएमएस पठाइएको छ।
चार हेलिकोप्टरसहित ४३७ सुरक्षाकर्मी परिचालन
प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरीका १७७ जना सुरक्षाकर्मी परिचालित छन्। उद्धार कार्यका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रयोग गरिएको छ।
बाढी तथा पहिरोको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
बेलीब्रिज जडान र राहत ढुवानीको तयारी
बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोलीले अध्ययन अघि बढाएको छ। आरुघाटमा बेलीब्रिज जडानका लागि पनि तयारी थालिएको छ।
प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टले बाढीको अवस्था निरन्तर अनुगमन तथा विश्लेषण गर्दै उद्धार र राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालन गर्न आवश्यक काम अघि बढाएको जनाएको छ।
यसैबीच, बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।
