कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण
कर्णाली, २५ असोजः कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । यही असोज २३ गते नियुक्त हुनुभएका उपाध्यक्ष डा खत्रीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
विसं २०१४ फागुन ३ गते तातोपानी गाउँपालिका-४ जुम्ला हाँकु निवासी बुवा पूर्णप्रसाद र आमा ललिता न्यौपानेबाट जन्मिनुभएका डा खत्री सरकारका सेवानिवृत्त वरिष्ठ वैज्ञानिक हुनुहुन्छ । विसं २०४१ मा रौतहटबाट सहायक कृषि विकास अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँले विसं २०४२ देखि २०४३ सम्म बालीरोग विज्ञान महाशाखा खुमलटारमा काम गर्नुभएको थियो । तत्पश्चात् डा खत्रीले नेपाल सरकारद्वारा सञ्चालित स्वीस विकास सहयोग नेपाल परियोजनामा सात वर्ष विषय विज्ञको पदमा काम गर्नुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को नीतिगत तहमा रहेर नीतिनिर्माण, अनुसन्धान, योजनातर्जुमा र कार्यान्वयनमा विशिष्ट भूमिका निर्वाह गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीको प्राज्ञिक निर्देशकका रूपमा क्रियाशील हुनुहुन्छ । उहाँसँग नेपाल कृषि अनुसन्धान परिषद्मा रहँदा देशभर रहेका ६१ वटा अनुसन्धान केन्द्रका समग्र अनुसन्धान तथा प्रशासनिक आयोजनाको योजनातर्जुमा, समन्वय र अनुगमनका क्षेत्रमा केन्द्रीय नेतृत्व गरेको अनुभव पनि छ ।
त्यसैगरी, सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको वरिष्ठ वैज्ञानिकका रूपमा करिब २१ वर्ष आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधि प्रवर्द्धन, अन्तरराष्ट्रिय आलु केन्द्रलगायत विभिन्न विश्वस्तरीय संस्थासँगको सहकार्यमा अनुसन्धान परियोजनाको सञ्चालन तथा किसान उपयोगी प्रविधि विकासमा डा खत्रीको महत्वपूर्ण योगदान छ ।
उहाँले विसं २०३१ मा जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयबाट एसएलसी र २०३४ सालमा बाँकेको नेपालगञ्ज क्याम्पसबाट कृषि विज्ञानमा प्रवीणता प्रमाण पत्र तह (आइएस्सीएजी) उत्तीर्ण गर्नुभएको थियो । फिलिपिन्सबाट सन् २००५ मा कृषि विज्ञानमा स्नातकोत्तर (एमएस्सी) र त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामपुर क्याम्पस चितवनबाट कृषि विज्ञानमा स्नातक (बिएस्सीएजी) उत्तिर्ण गर्नुभएको थियो । सन् २००९ मा अष्ट्रेलियाको तासमानिया विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि हासिल गर्नुभएको थियो ।
