Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुदूरपश्चिमका ८६ प्रतिशतभन्दा बढी बालबालिका वञ्चितीकरणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

सुदूरपश्चिम, २१ असोजः सुदूरपश्चिम प्रदेशका ८६ प्रतिशतभन्दा बालबालिका कम्तीमा एउटा आधारभूत सेवाको पहुँचबाट वञ्चित रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज धनगढीमा सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरणसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन–२०२६’ मा प्रदेशका बालबालिकाको ठूलो हिस्सा अर्थात् ८६.६ प्रतिशत कुनै न कुनै एउटा क्षेत्रमा वञ्चित रहेको देखाएको हो ।

    प्रतिवेदनअनुसार सुदूरपश्चिममा ५६.४ प्रतिशत बालबालिका दुई वा दुईभन्दा बढी आयाममा वञ्चित छन् । राष्ट्रियस्तरमा यस्तो वञ्चितीकरणमा रहेका बालबालिकाको अनुपात ५१.६ प्रतिशत छ । यस्तै तीन वा सोभन्दा बढी आयाममा वञ्चित बालबालिकाको २१.४ प्रतिशत रहेका छन् ।

    प्रदेशमा बहुआयामिक वञ्चितीकरणको सूचकाङ्क ०.०९५ रहेको छ । वञ्चित बालबालिकाले औसतमा ४६.८ प्रतिशत आयाममा वञ्चितीकरण भोगिरहेको प्रतिवेदनले देखाएको छ । चार वा सोभन्दा बढी आयाममा वञ्चित बालबालिकाको अनुपात भने ४.९ प्रतिशत रहेको छ, जुन राष्ट्रिय अनुपात ५.१ प्रतिशतभन्दा केही कम हो ।

    तथ्याङ्क प्रस्तुत गर्दै केन्द्रीय कार्यालय काठमाडौँका निर्देशक सन्ध्या दाहाल केसीले सुदूरपश्चिमका बालबालिकामा सबैभन्दा ठूलो समस्या सुरक्षित तथा पर्याप्त आवास र सूचना तथा सञ्चारका साधनको पहुँचमा देखिएको उल्लेख गर्नुभयो । उहाँले यहाँका ६८.७ प्रतिशत बालबालिका सुरक्षित र पर्याप्त आवासीय सुविधाबाट तथा ५२ प्रतिशत बालबालिका सूचना तथा सञ्चारका साधनको पहुँचबाट वञ्चित रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

    यसैगरी पोषणमा ४२.३ प्रतिशत, सरसफाइमा २३.२ प्रतिशत, शिक्षामा ९.७ प्रतिशत, स्वास्थ्यमा ८.६ प्रतिशत र पर्याप्त तथा सुरक्षित खानेपानीको पहुँचमा ३.२ प्रतिशत बालबालिका वञ्चित रहेको तथ्याङ्कले देखाएको छ ।

    प्रतिवेदनमा नेपालभर आवास र सूचनाको पहुँच दुवैमा एकैसाथ वञ्चित बालबालिकाको अनुपात २०२४–२५ मा ३५.२ प्रतिशत पुगेको छ, जुन २०१४ को ३४ प्रतिशतभन्दा बढी भएको उल्लेख छ । प्रतिवेदनले डिजिटल प्रविधिको प्रयोग बढ्दै गए पनि सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    सुदूरपश्चिममा पनि सूचना तथा सञ्चारको पहुँचबाट आधाभन्दा बढी बालबालिका वञ्चित देखिनुले डिजिटल पहुँचको असमानतालाई प्रदेशको बाल विकाससँग जोडेर हेर्नुपर्ने अवस्था देखिएको छ । आवासको समस्या पनि अझ गम्भीर देखिएको छ ।

पोषणमा अझै ठूलो खाडल

    प्रदेशका बालबालिकाको बहुआयामिक वञ्चितीकरणमा पोषण अर्को महत्त्वपूर्ण चुनौतीका रूपमा देखिएको छ । सुदूरपश्चिममा पोषणसम्बन्धी वञ्चितीकरण ४२.३ प्रतिशत रहेको छ । राष्ट्रिय प्रतिवेदनले पनि बालबालिकाको पोषण अवस्थालाई अझै प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । विशेषगरी ०–२३ महिनाका बालबालिकामध्ये पर्याप्त र विविध प्रकारको आहार नपाउनेको राष्ट्रिय अनुपात ६०.७ प्रतिशत रहेको छ ।

    केन्द्रीय कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा शरदकुमार शर्माले राष्ट्रियस्तरमा बालबालिकाको अवस्थामा सुधार भए पनि गरिबी, बसोबासको अवस्था, आमाको शिक्षा र प्रदेशगत असमानताका कारण केही समूह अझै पछाडि रहेको बताउनुभयो । त्यस कारण अबका नीति तथा कार्यक्रम राष्ट्रिय औसत सुधारमा मात्र केन्द्रित नभई बढी वञ्चित बालबालिका रहेका समूह र क्षेत्रलाई लक्षित गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष रहेको उहाँले उल्लेख गर्नुभयो । 

    कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले तथ्याङ्कले देखाएका विषयलाई तीनै तहका सरकारले मिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले तथ्याङ्कलाई अध्ययनमा समिति नराखी सबैले बुझ्ने गरी सरलीकरण गर्न आवश्यक रहेको र सरकारका निकायले आफ्ना नीति तथा कार्यक्रममा त्यसलाई समायोजन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

    उपाध्यक्ष भट्टले आयोगले प्रदेशका बालबालिकाको अवस्थालाई थप विश्लेषण गर्दै तथ्याङ्कले देखाएका समस्या समाधानका लागि सरकारका नीति तथा कार्यक्रममा समावेश गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम कार्यालय प्रमुख सहसचिव प्रकाशदत्त भट्टले तथ्याङ्कलाई अधिकारको दृष्टिकोणबाट विश्लेषण गर्दै त्यसलाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार र मातहतका निकायलाई समस्यामा रहेका वास्तविक बालबालिकाको अवस्था पहिचान गरी तिनको सम्बोधनका लागि आग्रह गर्नुभयो । 

    कार्यक्रममा युनिसेफ नेपालका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, फिल्ड कार्यालय सुदूरपश्चिमका प्रमुख वैजयन्तीसिंह गिरी, तथ्याङ्क कार्यालय कैलालीका प्रमुख गोबिन्दप्रसाद न्यौपानेलगायतले तथ्याङ्कले औँल्याएका समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागीले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ र बाल संरक्षणका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए । 

    राष्ट्रिय तथ्याङ्क कार्यालयले युनिसेफ नेपालसँगको सहकार्यमा पहिलोपटक यसप्रकारको विश्लेषणात्मक प्रतिवेदन तयार गरिएको जनाइएको छ । प्रतिवेदनमा पहिलो चरणमा नेपाल बहुसूचक सर्वेक्षणका सूक्ष्म तथ्याङ्क, बालबालिकाको जीवनचक्र र उमेरअनुसार (०–२३ महिना, २४–५९ महिना, ५–९ वर्ष र १०–१७ वर्ष) तथा समग्र ०–१७ वर्षका बालबालिकाका लागि सामाजिक तथा आधारभूत आवश्यकतासँग सम्बन्धित सात वटा आयाम र २० वटा सूचकलगात विभिन्न छ वटा चरणमा विश्लेषण गरिएको जनाइएको छ । 

    प्रतिवेदनले अब तथ्यमा आधारित नीति निर्माण र स्रोत विनियोजनका लागि प्रदेश तथा स्थानीय तहसम्म बालबालिकाको अवस्थासम्बन्धी खण्डीकृत तथ्याङ्क नियमित रूपमा उत्पादन र प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, प्रतिवेदनले अति विपन्न, ग्रामीण तथा पछाडि परेका समूहका बालबालिकालाई लक्षित गरी स्रोत र कार्यक्रम केन्द्रित गर्न सुझाव दिएको छ । 

    प्रदेशको आवश्यकता र वञ्चितीकरणको अवस्थाअनुसार बहुक्षेत्रीय कार्यक्रम सञ्चालन, प्रारम्भिक बालपोषण तथा मातृ शिक्षामा लगानी र बाल–संवेदनशील सामाजिक सुरक्षा विस्तार गर्नुपर्ने, स्वास्थ्य, शिक्षा, पोषण, खानेपानी–सरसफाइ र बाल संरक्षणलाई एकीकृत रूपमा सञ्चालन गरी नियमित अनुगमन गर्न तथा बाल वञ्चितीकरणको स्थानीय तहसम्मको अवस्था पहिचान गरी त्यसैका आधारमा वित्तीय हस्तान्तरण र स्रोत विनियोजन गर्नुपर्ने पनि प्रतिवेदनको निष्कर्ष र सुझाव छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan