Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | रासस

 जनकपुरधाम, २१ असोजः मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रबाट स्नातकोत्तर तहको एमबिए तथा स्नातक तहको एलएलबी र बिबीएको पठनपाठन सुरु गरेको हो ।

मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट थपिएको तीनवटै सङ्कायको पठनपाठन गरेको छ । 

“एलएलबीको कक्षा सञ्चालन गरिसकेका छौँ र बिबीएको कक्षा पनि सञ्चालनको तयारी अन्तिम चरणमा छ”, रजिष्ट्रार यादवले भन्नुभयो, “अहिले एमपीए दोस्रो ब्याचको भर्नासमेत खोलेका छौँ, छिट्टै भर्ना प्रक्रिया सकिए कक्षा सञ्चालन गर्छाैँ ।” विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप शैक्षिक कार्यक्रम विस्तार गर्न हौसिएको उहाँको भनाइ छ । 

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले पहिलो एक वर्षमै दुईवटा सङ्कायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप मधेस विश्वविद्यालयलाई मधेस प्रदेशमै पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपकबहादुर शाक्यले बताउनुभयो ।

“हामीले सञ्चालन गरेको कक्षाहरूमा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ”, उपकुलपति प्रा डा शाक्यले भन्नुभयो, “त्यसैले निकट भविष्यमै मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायतका चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि चलाउने लक्ष्य राखेका छौँ ।” तत्कालका लागि वीरगन्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिने तयारी भएको उहाँको भनाइ छ । 

मधेस विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने दृष्टिले एमफिल पिएचडीसँगै फार्मेसी र विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको उपकुलपति प्रा डा शाक्यले बताउनुभयो ।

मधेस प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा समाहित गराउन शिक्षालाई शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देउश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि मधेस प्रदेशमै पहिलो ‘मधेस स्किल स्कुल’ स्थापना गर्ने पनि मधेस विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको उहाँको कथन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan