Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस/क्युएनए)

ब्रिजटाउन, ८ मङ्सिर : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गर्नुभएको छ । उहाँले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा ठूलो सम्भावना बोकेको उल्लेख गर्नुभयो । तर, यस प्रविधिको तीव्र विकाससँगै उत्पन्न भइरहेका जोखिमको सामना गर्न साझा अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घ र बार्बाडोस सरकारले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री मिया मोटलीसहित विभिन्न देशका सरकारी अधिकारी, प्रविधि कम्पनीका प्रतिनिधि, वैज्ञानिक, नागरिक समाजका सदस्य तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

महासचिव गुटेरेसले एआईका जोखिम पहिचान र उन्नत प्रणालीको निगरानी गर्ने विषयमा विभिन्न देशको क्षमता समान नरहेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले एआई प्रणालीको सुरक्षा परीक्षणका लागि साझा विधि विकास गर्ने, स्वतन्त्र निगरानी संयन्त्र बलियो बनाउने र अनुभव आदानप्रदान गर्ने आवश्यकतामा जोड दिनुभयो ।

त्यस्तै, एआई प्रविधिको सुरक्षित प्रयोगका लागि आवश्यक प्राविधिक तथा संस्थागत क्षमता नभएका देशलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

सम्मेलनमा बार्बाडोसकी प्रधानमन्त्री मोटलीले एआई प्रणाली विकास गर्ने कम्पनीलाई त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभयो । एआई प्रणालीले व्यक्ति वा संस्थालाई जोखिममा पारेको अवस्थामा सरकारले आवश्यक हस्तक्षेप गर्न सक्ने अधिकार सुरक्षित राख्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सम्मेलनको मुख्य उद्देश्य एआईका जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय बढाउनु र साझा नियम निर्माणका उपायबारे छलफल गर्नु रहेको थियो । एआईको सम्भावनालाई मानवहितमा उपयोग गर्दै यसबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा पनि सम्मेलन केन्द्रित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan