Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस)

धनुषा, २७ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । 

    विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ ।

    सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभएको हो । उहाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा बुधबार नै औपचारिक पत्र पठाइसक्नुभएको छ । विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादमा जुट्नुभएको छ । विश्वासको मतका विषयमा दलहरूसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताउनुभयो ।

    नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

    दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहनुभएको छ । एक सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । 

    प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन् ।

    प्रदेशसभाको अङ्क गणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan