Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संरक्षणको अभावमा ऐतिहासिक बलामकोट दरबार भग्नावशेष

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

बागलुङ, १२ कात्तिकः बागलुङ नगरपालिका–८ सिँगानास्थित ऐतिहासिक बलामकोट संरक्षण अभावमा ओझेलमा परेको छ । त्यस बेलाका भुरेटाकुरे राजाले राज्य सञ्चालन गरेको मानिएको बलामकोट दरबार संरक्षण नहुँदा भग्नावशेषसमेत माटोमा पुरिएको छ । 

    हाल त्यस क्षेत्रमा माटाका ढिस्का मात्रै देखिन्छन् । समयमै संरक्षण र उत्खनन् हुन नसक्दा ऐतिहासिक महत्त्व बोकेको उक्त स्थल लोप हुने अवस्थामा छ ।

    बाइसे–चौबिसे राज्यका पालामा बलामी नामका राजाले बलामकोटबाट राज्य सञ्चालन गरेको ऐतिहासिक इतिहास छ । त्यस क्षेत्रको करिब तीन रोपनी जग्गामा खनजोत गर्ने क्रममा इँटा, दियो, ओखल तथा दरबारका अन्य भग्नावशेष फेला परेको स्थानीय राजन कार्कीले जानकारी दिनुभयो ।

    उक्त दरबारबाट राज्य सञ्चालन गर्ने राजाले हतियार भण्डारणका लागि हाल सिँगाना र रेशमस्थित कोतघर प्रयोग गरेको बताइन्छ । त्यो कोतघर नजिक बलामकोट दरबार रहेको अनुमान गरिएको स्थानीयको भनाइ छ ।

    उक्त ऐतिहासिक स्थलको उत्खनन गरी भग्नावशेष सङ्कलन तथा संरक्षण गर्नुपर्ने स्थानीय कविराज जिसीले बताउनुभयो । उहाँका अनुसार सिँगानाबाट रेश, दमेकलगायत स्थानमा राज्य सञ्चालन भएको पाइएको छ ।

    नेपालको इतिहासमा राज्य सञ्चालन गरेको महत्वपूर्ण स्थल, रानी तथा भूमे मन्दिर र कोतघरसँग सम्बन्धित ऐतिहासिक महत्व बोकेको बलामकोटको संरक्षण गरी पर्यटनसँग जोडनुपर्ने स्थानीयको माग छ । त्यस क्षेत्रसँग सम्बन्धित सिँगाना कोतघर पुनर्निर्माण गरी आकर्षक बनाइए पनि त्यससँग जोडिएको बलामकोट भने संरक्षणको अभावमा मासिँदै गएको छ ।

    उक्त नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले कोतघरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनर्निर्माण तथा संरक्षण गरिएको भए पनि बलामकोटको संरक्षण गर्न नसकिएको बताउनुभयो । 

    बडादसैँका अवसरमा सिगाना कोतघरमा चहलपहल भए पनि कुनै समय राज्य सञ्चालन भएको बलामकोट भने सुनसान रहँदै आएको छ । अहिले उक्त स्थान वनभोजस्थलका रूपमा प्रयोग हुन थालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan