Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बढ्दो महँगीबीच मतदाताको विश्वास जित्ने रणनीतिमा जर्मनीको सत्तारूढ दल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस/सिन्ह्वा)

बर्लिन, २८ असोज : जर्मनीको सत्तारूढ गठबन्धनमा रहेको प्रमुख दल क्रिस्चियन डेमोक्रेटिक युनियनले आर्थिक सहजता, सामाजिक न्याय र सुरक्षालाई प्राथमिकतामा राख्दै मतदाताको विश्वास पुनः प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

दलको नेतृत्वले सोमबार दुई दिनसम्म चलेको बन्द बैठक सम्पन्न गर्दै बढ्दो महँगी र जनअसन्तुष्टिलाई सम्बोधन गर्न नयाँ रणनीति अघि सारेको हो ।

जर्मनीमा आर्थिक अनिश्चितता, जीवनयापनको बढ्दो लागत र मतदातामा बढ्दो असन्तुष्टिका कारण घरेलु राजनीतिक दबाब बढिरहेका बेला दलको नेतृत्व बैठक बसेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जर्मनीका चान्सलर तथा दलका नेता फ्रिडरिख मर्जले आफ्नो दलले जनविश्वासको सङ्कटबाट बाहिर निस्कन आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

“पछिल्ला वर्षहरूमा जीवनयापन महँगो भएको छ । मानिसहरूले यसको प्रत्यक्ष अनुभव गरिरहेका छन् र त्यससँगै अन्यायको अनुभूति पनि बढ्दै गएको छ,” मर्जले भन्नुभयो । उहाँले देशमा परिवर्तनको दबाब बढिरहेको पनि उल्लेख गर्नुभयो ।

बढ्दो महँगीबाट सर्वसाधारण तथा व्यवसायलाई राहत दिन दलले विशेषगरी ऊर्जा लागत घटाउने योजना अघि सारेको छ । यसअन्तर्गत विद्युत् करलाई युरोपेली सङ्घले निर्धारण गरेको न्यूनतम स्तरमा झार्ने प्रस्ताव गरिएको छ ।

मर्जका अनुसार, जर्मनीको आर्थिक वृद्धि अनुमानित स्तरमा कायम रहन सके सङ्घीय सरकारको कर राजस्वबाट कर कटौतीका लागि आवश्यक पाँच अर्ब युरो अर्थात् करिब पाँच अर्ब ५८ करोड अमेरिकी डलर जुटाउन सकिनेछ ।

गत साता जर्मन सरकारले सन् २०२६ का लागि आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतबाट बढाएर १.३ प्रतिशत पु¥याएको थियो । वर्षको पहिलो छ महिनामा निर्यात र सरकारी उपभोग आर्थिक वृद्धिका प्रमुख आधार बनेको सरकारले जनाएको थियो ।

यद्यपि, जर्मन उद्योग तथा वाणिज्य सङ्घले सुधारिएको आर्थिक सम्भावनाका बाबजुद निजी लगानी र घरेलु मागमा अपेक्षित गति आउन नसकेको चेतावनी दिएको छ ।

सङ्घको प्रमुख कार्यकारी हेलेना मेल्निकोभले व्यवसायका लागि लागत घटाउने, प्रशासनिक झन्झट कम गर्ने, प्रक्रियालाई छिटो बनाउने र पूर्वाधार आधुनिकीकरण गर्ने सुधार आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार, यी क्षेत्रमा सङ्घीय सरकारले अझ तीव्र गतिमा काम गर्नुपर्छ ।

जर्मन उद्योग तथा वाणिज्य सङ्घका अध्यक्ष पिटर एड्रियनले विद्युत् कर घटाउने निर्णय लामो समयदेखि आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार, जर्मनीमा युरोपका उच्च विद्युत् मूल्य कायम छन् । उहाँले प्रतिबद्धताअनुसार छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै व्यवसायमाथिको लागतको दबाबका कारण प्रत्येक महिना महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मर्ज र दलकी महासचिव फ्रान्जिस्का होप्परमानले पनि आर्थिक सहजता, न्याय र सुरक्षालाई दलको नयाँ रणनीतिका प्रमुख आधारका रूपमा प्रस्तुत गर्नुभयो । यी तीन विषयले सर्वसाधारणको समग्र मनोभावना प्रतिबिम्बित गर्ने होप्परमानको भनाइ थियो ।

यसैबीच, जर्मनीको राजनीतिक परिदृश्य थप विभाजित हुँदै गएको विषयले पनि दलको नेतृत्वलाई चिन्तित बनाएको छ । मर्जले स्याक्सोनी–आन्हाल्ट राज्यको संसद् अध्यक्षमा दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनीका उम्मेदवार निर्वाचित भएको घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

विशेषगरी, ती उम्मेदवारले आफ्नै दलका सांसदबाहेक अन्य दलका सांसदबाट पनि मत प्राप्त गरेको विषयलाई उनले चिन्ताजनक रूपमा लिएका छन् ।

यसै बैठकका क्रममा सङ्घीय सरकारमा पनि आकस्मिक परिवर्तन भएको छ । सोमबार बर्बेल बासले श्रम तथा सामाजिक मामिलामन्त्री र सामाजिक लोकतान्त्रिक दलको सहअध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । राइनल्यान्ड–प्यालाटिनेट राज्यका पूर्वमुख्यमन्त्री अलेक्जान्डर स्वाइट्जरले उनको स्थान लिने भएका छन् ।

सरकारमा भएको यस परिवर्तनका बाबजुद चान्सलर मर्जले प्रस्तावित सुधारलाई अघि बढाउन र विधायिकी कामलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको सङ्केत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan