Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धमाधम फेला पर्दै अवैध हतियार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | रासस

 बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले कोपिला सामुदायिक वनको जङ्गलबाट खिया लागेको कालो रङको कटुवा पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बगनाहामा सुरक्षित राखिएको उहाँले बताउनुभयो ।

    यसअघि गत जेठ २४ गते सोही सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । स्थानीय महिला दाउरा खोज्न जाँदा बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले गत वैशाखदेखि अवैध हतियार नियन्त्रणका लागि ‘स्विप अपरेसन’ सञ्चालन गरिएकाले बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको बताउनुभयो । उहाँका अनुसार अवैध हतियार नियन्त्रण अभियानले चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

    यसअघि गत साउन २२ गते बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित सडकछेउको झाडीबाट कटुवा पेस्तोल फेला परेको थियो । 

    यस्तै, गत भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा बन्दुकमा प्रयोग हुने एक थान नालसहित भरुवा बन्दुक फेला परेको थियो । गत भदौ २५ गते गेरुवा गाउँपालिका–२ बालुवातार जाने सडकछेउको झाडीबाट पनि कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भारतसँग सीमा जोडिएको बर्दियामा सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रहरीले सामुदायिक वन क्षेत्रमा निगरानी बढाउँदै आएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीको निगरानी बढेपछि अवैध हतियार राख्नेलाई समस्या परेको हुन सक्ने र हतियार लुकाउने क्रममा बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उहाँको भनाइ छ ।

    जिल्लामा अझै अवैध हतियार हुन सक्ने अनुमान गर्दै प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती कम गर्न अवैध हतियार नियन्त्रण अभियानलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan