Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल विकास गरेका हल र उडफोर्डलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस\एएफपी)

अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । 

    मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ ।

    पुरस्कार समितिका अध्यक्ष जोन हस्लरले उहाँहरुको अनुसन्धानले ऊर्जा सङ्कट वा घरपरिवारको उपभोगमा आउने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्काको सामना गर्न नीतिनिर्मातालाई थप सक्षम बनाएको बताउनुभयो । 

    सन् १९७० को दशकमा देखिएको तेल सङ्कटका क्रममा मन्दी तथा अन्य आर्थिक उतारचढावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडेल प्रभावकारी हुन नसकेको देखिएको थियो । त्यसपछि हल र उडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पु¥याउनु भएको थियो ।

    एकेडेमीका अनुसार, उहाँहरूले मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता समष्टिगत आर्थिक सूचकबीचको तथ्याङ्कीय सम्बन्धमा मात्र निर्भर नभई सूक्ष्म आर्थिक आधारमा मोडेल निर्माण गर्ने दृष्टिकोण अपनाए । यस दृष्टिकोणले व्यक्तिगत घरपरिवार र व्यवसायले गर्ने निर्णय तथा तिनको समग्र प्रभावले अर्थतन्त्रमा कसरी परिवर्तन ल्याउँछ भन्ने बुझ्न सहयोग पु¥याउँछ । 

    अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडिश वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १८९५ को इच्छापत्रमा उल्लेख गरिएका पाँच मूल पुरस्कारमध्ये पर्दैन । नोबेलको सन् १८९६ मा निधन भएको थियो । स्वीडिश केन्द्रीय बैंकको सहयोगमा सन् १९६८ मा स्थापना गरिएको यस पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानतर्फको स्वेरिजेस रिक्सबैंक पुरस्कार’ भनिन्छ ।

    यसको स्थापना नोबेलको मूल इच्छापत्रमा नभएकाले केही आलोचकले यसलाई ‘नक्कली नोबेल’ भन्ने गरेका छन् । यद्यपि, यसको विजेता छनोट रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले नै गर्छ र छनोट प्रक्रिया अन्य नोबेल पुरस्कारको प्रक्रियासँग मिल्दोजुल्दो छ ।

    गत वर्ष प्रविधिले आर्थिक वृद्धिलाई कसरी अघि बढाउँछ भन्ने विषयमा अनुसन्धान गरेका अमेरिकी–इजरायली अर्थशास्त्री जोएल मोकिर, फ्रान्सेली अर्थशास्त्री फिलिप एगियोन र क्यानडाका पिटर हाउइटलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

    अन्य नोबेल पुरस्कारसरह अर्थशास्त्रतर्फको पुरस्कारमा पनि प्रमाणपत्र, स्वर्ण पदक र नगद पुरस्कार समावेश हुन्छ । पुरस्कार विजेताले डिसेम्बर १० मा आयोजना हुने औपचारिक समारोहमा पुरस्कार ग्रहण गर्नेछन् । डिसेम्बर १० अल्फ्रेड नोबेलको निधन भएको दिनको वार्षिकी हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan