Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौमा ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार | सागर श्रेष्ठ
newsabhiyan

काठमाडौं, २०८३ आश्विन २४ गते, नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष पनि ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्न लागेको छ।

नेपाली खानाको विविधतामध्ये पक्कु एउटा मौलिक, स्वादिष्ट र गाउँघरको परम्परागत पाककलासँग गहिरो सम्बन्ध राख्ने उत्सवको परिकार हो। पुस्तौँदेखि हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिँदै आएको यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुना र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि निरन्तर रूपमा पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ।

विगतका संस्करणबाट प्राप्त अनुभव, ग्राहक तथा स्वादका पारखीहरूबाट प्राप्त सुझाव र नेपाली मौलिक खानाप्रति बढ्दै गएको आकर्षणले यस अभियानलाई थप परिष्कृत र प्रभावकारी बनाउने प्रेरणा दिएको छ। यही उत्साह, प्रतिबद्धता र दीर्घकालीन दृष्टिकोणका साथ तेस्रो पक्कु फेस्टिभल आयोजना गर्न लागिएको हो।

यस वर्ष २०८३ साल आश्विन २५ गतेदेखि २९ गतेसम्म पाँच दिनसम्म प्रेसिडेन्ट बिजनेस ग्रुपका विभिन्न आउटलेटहरूमा पक्कुका साथै विविध परिकार प्रस्तुत गरिनेछन्। काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र नेपाली आतिथ्यताको विशेष अनुभव प्रदान गर्ने तयारी गरिएको छ।

यस अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशबाट समेत नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा प्रेसिडेन्टको पक्कुलाई प्रस्तुत तथा प्रवर्द्धन गरिँदैछ। यसले नेपाली मौलिक खानालाई विभिन्न भूगोल, समुदाय र पर्यटकीय गन्तव्यसँग जोड्दै यसको पहिचानलाई व्यापक बनाउने हाम्रो प्रयासलाई थप गति दिनेछ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका लागि पक्कु फेस्टिभल केवल एउटा व्यावसायिक गतिविधि वा सीमित अवधिको खानाको उत्सव मात्र होइन। यो हाम्रा गाउँघरमा पुस्तौँदेखि प्रचलित रैथाने परिकारको पहिचान स्थापित गर्ने, त्यसको मौलिकता संरक्षण गर्ने, नयाँ पुस्तासम्म यसको स्वाद र परम्परा हस्तान्तरण गर्ने तथा नेपाली खानालाई पर्यटनसँग अभिन्न रूपमा जोड्ने दीर्घकालीन अभियान हो।

नेपालको पर्यटनको आकर्षण हिमाल, पहाड, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा मात्र सीमित छैन। यहाँको मौलिक खाना, स्वाद, पाककला, जीवनशैली र आतिथ्य परम्परा पनि पर्यटनका महत्वपूर्ण आधार हुन्। कुनै पनि गन्तव्यको विशिष्टता त्यहाँको प्राकृतिक सौन्दर्यमा मात्र होइन, त्यहाँको स्वाद, संस्कृति र मानिसहरूले प्रदान गर्ने आतिथ्यताको अनुभूतिमा समेत प्रतिबिम्बित हुन्छ।

त्यसैले नेपाली खानालाई व्यवस्थित रूपमा पहिचान, प्रस्तुति र ब्रान्डिङ गर्न सकियो भने यसले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्न सक्छ।

हामी पक्कुलाई एउटा परिकारका रूपमा मात्र होइन, नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्न चाहन्छौँ।

प्रेसिडेन्ट बिजनेस ग्रुप विगत दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा निरन्तर सक्रिय रहँदै आएको स्थापित व्यावसायिक समूह हो। यस अवधिमा हामीले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मूल आधार बनाउँदै आएका छौँ।

‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यताका साथ प्रेसिडेन्टले आफ्नै व्यावसायिक पहिचान, सेवा संस्कार र ग्राहकको विश्वास निर्माण गर्ने प्रयास गर्दै आएको छ।

हाम्रो दृष्टिमा होटल वा रेस्टुरेन्ट केवल खाना तथा आवास उपलब्ध गराउने व्यावसायिक स्थल मात्र होइन; यो संस्कृति, स्वाद, सेवा, रोजगारी र आतिथ्यताको प्रतिनिधि पनि हो। त्यसैले नेपाली मौलिक खानाको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो व्यावसायिक यात्रासँग जोडेर अघि बढाउनु हाम्रो व्यावसायिक प्रतिबद्धतासँगै सामाजिक दायित्वसमेत हो भन्ने हामीले आत्मसात् गरेका छौँ।

यही दृष्टिकोणअनुरूप प्रेसिडेन्ट बिजनेस ग्रुपले आफ्ना होटल तथा रेस्टुरेन्टहरूलाई व्यवस्थित, गुणस्तरीय, सेवामुखी र दिगो व्यावसायिक प्रणालीअन्तर्गत सञ्चालन तथा विस्तार गर्दै आएको छ। हाम्रो विस्तारको उद्देश्य व्यवसायको आकार बढाउनु मात्र नभई सेवा गुणस्तरमा निरन्तर सुधार, व्यावसायिक अवसरको सिर्जना, दक्ष जनशक्तिको विकास र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउनु पनि हो।

यसै क्रममा प्रेसिडेन्ट बिजनेस ग्रुपले आगामी दिनमा आफ्नो व्यावसायिक सञ्जाललाई थप विस्तार गर्ने तयारी गरिरहेको छ। रुपन्देहीको बुटवल तथा काठमाडौंको बुढानीलकण्ठबाट समेत नयाँ आउटलेटहरू सञ्चालनमा ल्याउने हाम्रो योजना छ। यी नयाँ गन्तव्यले स्थानीय बजारमा गुणस्तरीय सेवा तथा आतिथ्यताको पहुँच विस्तार गर्नुका साथै थप रोजगारीका अवसर सिर्जना गर्न योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ।

हाल प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटहरूमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन्। यो संख्या हाम्रो व्यावसायिक विस्तारको सूचक मात्र नभई सयौँ परिवारको अर्थोंपार्जन, सीप विकास र आर्थिक निर्भरतासँग जोडिएको महत्वपूर्ण पक्ष पनि हो।

हामी व्यवसाय विस्तारलाई केवल लगानी र कारोबार वृद्धिको दृष्टिले मात्र हेर्दैनौँ। त्यसलाई रोजगारी सिर्जना, मानव संसाधनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र जिम्मेवार उद्यमशीलताको अभ्याससँग जोडेर अघि बढाउन चाहन्छौँ।

मौलिक खानाको प्रवर्द्धनले त्यससँग सम्बन्धित सम्पूर्ण आर्थिक तथा सामाजिक शृङ्खलालाई चलायमान बनाउन सक्छ। पक्कुजस्तो परिकारको व्यावसायिक प्रवर्द्धनले स्थानीय उत्पादन, कृषक, पशुपालक, आपूर्तिकर्ता, भान्सामा कार्यरत दक्ष जनशक्ति तथा सेवा क्षेत्रमा संलग्न श्रमिकहरूका लागि अवसर सिर्जना गर्न सक्छ।

यस्ता अभियानले परम्परागत परिकारलाई आधुनिक बजारसँग जोड्ने, स्थानीय उत्पादनको माग बढाउने र नेपाली खानालाई व्यवस्थित व्यावसायिक पहिचान प्रदान गर्ने आधार निर्माण गर्छन् भन्ने बुझाई हाम्रो रहको छ । 

त्यसैले पक्कु फेस्टिभललाई हामी स्वाद र उत्सवका रूपमा मात्र नभई स्थानीय उत्पादन, उद्यमशीलता, रोजगारी र पर्यटनबीचको सम्बन्धलाई सुदृढ बनाउने अभियानका रूपमा पनि लिने प्रयास रहकोछ । 

आगामी दिनमा पक्कुलाई निश्चित समयको फेस्टिभलमा मात्र सीमित नराखी दीर्घकालीन ब्रान्डिङ, बजार विस्तार र प्रवर्द्धन अभियानका रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ। नेपालका विभिन्न भूगोलमा रहेका मौलिक तथा रैथाने परिकारको पहिचान, संरक्षण, व्यावसायिकीकरण र अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्ने दिशामा निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ।

नेपाली खानाको मौलिकता जोगाउँदै त्यसलाई आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा, स्वच्छता र व्यावसायिक मापदण्डसँग जोड्न सकियो भने परिकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान बनाउन सक्छन्।

पक्कु फेस्टिभलमार्फत हामी यही सन्देश दिन चाहन्छौँ, नेपाली खानामा स्वाद मात्र छैन; यसमा हाम्रो संस्कृति, इतिहास, श्रम, सामाजिक सम्बन्ध, पहिचान र आतिथ्यताको जीवन्त अभिव्यक्ति पनि समाहित छ।

आज हामीले आफ्नै मौलिक परिकारलाई गर्वका साथ पहिचान, संरक्षण र प्रवर्द्धन गर्न सकेनौँ भने भोलि विश्व बजारमा नेपाली स्वादको विशिष्ट पहिचान स्थापित गर्न कठिन हुनेछ। त्यसैले ‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्‍याउने दूरदृष्टिका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस अभियानलाई निरन्तरता दिएको हो।

तेस्रो पक्कु फेस्टिभलसम्म आइपुग्दा स्वादका पारखी पाहुनाहरूबाट प्राप्त माया र विश्वास, पत्रकार तथा सञ्चारमाध्यमबाट प्राप्त साथ, शुभेच्छुकहरूको सुझाव र नेपाली मौलिक खानाप्रतिको बढ्दो उत्साहलाई हामीले यस अभियानको सबैभन्दा ठूलो ऊर्जा मानेका छौँ।

यस अभियानलाई सफल बनाउन साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण ग्राहक, सञ्चारकर्मी, साझेदार, शुभेच्छुक तथा नेपाली मौलिक खानाका पारखीहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।

हाम्मिलाई विश्वास छ, नेपाली खानाको प्रवर्द्धन कुनै एक व्यवसाय वा संस्थाको मात्र दायित्व होइन। यो हाम्रो सामूहिक सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र पर्यटनको सम्भावनासँग जोडिएको साझा जिम्मेवारी हो।

पक्कुको मौलिक स्वादमार्फत नेपाली संस्कृति, नेपाली आतिथ्यता र नेपालको पहिचानलाई अझ व्यापक रूपमा चिनाउने हाम्रो यात्रा निरन्तर रहनेछ।

नेपाली मौलिक स्वादको सम्मान, संरक्षण र प्रवर्द्धनमा हामी यहाँहरू सबैको सहकार्यको अपेक्षा गर्दछौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan