चाडपर्वमा हवाई भाडा बढाएको गुनासोपछि क्यानको सक्रियता
काठमाडौं । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा यात्रुबाट आएको गुनासो सम्बोधन गर्न क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको हो।
छलफलका क्रममा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने/गराउने सहमति भएको छ। साथै, उक्त भाडादरसम्बन्धी सूचना सम्बन्धित वायुसेवा कम्पनीका बिक्री तथा वितरण प्लेटफर्ममा समेत सार्वजनिक गर्ने सहमति भएको क्यानले जनाएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र त्यसको मौका छोपेर हवाई भाडा महँगो बनाइएको गुनासो बढेपछि सरकारले भाडादरमा निगरानी र सहजीकरणलाई प्राथमिकता दिएको हो।
आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि उच्चतम भाडादरसम्मको व्यवस्था यसअघि नै निर्धारण गरिएको छ। २०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।
क्यानले स्वीकृत भाडादरको कार्यान्वयनसँगै यात्रुलाई सहज र पारदर्शी रूपमा टिकट उपलब्ध गराउने विषयमा वायुसेवा कम्पनीहरूलाई ध्यान दिन आग्रह गरेको छ।
