चिनियाँ प्रवक्तालाई जापानको आग्रह
जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र सम्बोधन गरेपछि टोकियोले बेइजिङसमक्ष आफ्नो असन्तुष्टि जनाएको जापानी विदेश मन्त्रालयले बताएको छ ।
जापानी विदेश मन्त्रालयका प्रवक्ता तोशिहिरो किटामुराले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार अर्को देशका नेतालाई सम्मानजनक रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताउनुभयो । “हाम्रो स्थितिमा मतभेद भए पनि अर्को देशका नेतालाई उचित सम्मान देखाउनु स्वाभाविक हो”, उहाँले भन्नुभयो ।
चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको विषयमा जापानका प्रधानमन्त्री ताकाइचीले सन् २०२५ मा दिनुभएको अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा केही असहजता देखिएको छ ।
यसैबीच, सम्बन्ध सुधार्ने प्रयासस्वरूप जापानी सांसदहरूले पछिल्ला केही सातामा चीनको भ्रमण गरेका छन् । प्रधानमन्त्री ताकाइचीले हालै चीनलाई ‘महत्त्वपूर्ण छिमेकी’ बताउँदै दुई देशबीच स्थिर सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
