फेवातालमा हावाहुरीले अलपत्र ७ पर्यटकको उद्धार, बेगनासमा २५ फिट गहिराइबाट शव निकालियो
पोखरा । अचानक आएको हावाहुरी र वर्षाले फेवातालमा डुङ्गासहित अलपत्र परेका चितवनका सात जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। असोज १७ गते साँझ पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा भएको घटनामा उनीहरू चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा परेपछि तालमै फसेका थिए।
तालमा मौसम एकाएक प्रतिकूल बनेपछि पर्यटकहरू संकटमा परेको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एण्ड रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो। विपद्को जोखिमबीच परिचालित टोलीले तालमै पुगेर सातै जनालाई सकुशल बाहिर निकालेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार अचानक आएको हावाहुरी र पानीका कारण डुङ्गा नियन्त्रणमा समस्या आएपछि उनीहरू अलपत्र परेका थिए। समयमै सूचना प्राप्त भएकाले सम्भावित दुर्घटना हुन नपाउँदै उद्धार गर्न सफल भएको उनले बताए।
फेवातालमा पर्यटकको उद्धार भइरहेको समयमा पोखराकै बेगनास तालमा भने पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
पोखरा महानगरपालिका–३२ स्थित बेगनास तालमा असोज १७ गते साँझ पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सल्यानका २५ वर्षीय नरेश विकको शव सशस्त्र प्रहरीका गोताखोरले फेला पारेका हुन्। विक हाल पोखरा महानगरपालिका–१४, खसीबजारमा बस्दै आएका थिए।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको थियो। तालमा व्यापक खोजी गरेपछि गोताखोरले करिब २५ फिट गहिराइमा शव फेला पारेका थिए।
शवलाई पानीबाट बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
एकै साँझ पोखराका दुई प्रमुख तालमा भएका यी दुई घटनाले ताल क्षेत्रमा मौसमको जोखिम र सुरक्षा सावधानीको प्रश्न पुनः सतहमा ल्याएको छ। फेवातालमा सात जनाको ज्यान जोगिए पनि बेगनासमा एक युवाको ज्यान गुमेको घटनाले जलक्षेत्रमा सामान्य असावधानीसमेत कति महँगो पर्न सक्छ भन्ने देखाएको छ।
