Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि गृहमन्त्रीसँग एनआरएनएको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |
newsabhiyan

काठमाडौं, १५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि आग्रह गर्नुभएको  छ।

भेटका क्रममा एनआरएनए पदाधिकारीहरूले हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानले सुनिश्चित गरेका सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारको पूर्ण र प्रभावकारी उपयोगमा अझै कानुनी तथा व्यावहारिक जटिलता रहेको भन्दै त्यसको समाधानका लागि गृह मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न आग्रह गर्नुभएको हो ।

भेटमा  “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मान्यताको मर्मअनुरूप एक पटक वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि विदेशी नागरिकता लिए पनि वंशजको नेपाली नागरिकताको निरन्तरता कायम रहने गरी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको सन्दर्भमा गैरआवासीय नेपालीसँग सम्बन्धित नागरिकताको निरन्तरता तथा वंशजको नागरिकताको अधिकारलाई संविधानमै स्पष्ट रूपमा सुनिश्चित गर्ने व्यवस्था समावेश गर्न आवश्यक पहल र समन्वय गर्नसमेत एनआरएनएले आग्रह गरेको थियो।

भेटका क्रममा गृहमन्त्री गुरुङले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक समन्वय र परामर्श गरी सकेसम्म छिटो आवश्यक पहल गर्ने बताउनुभयो।

गैरआवासीय नेपालीका सरोकारका विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो।

भेटमा एनआरएनएले विपद् व्यवस्थापन तथा मानवीय सहायता क्षेत्रमा संघले गर्दै आएको कामबारे पनि जानकारी गराएको थियो।

भेटमा एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, महिला संयोजक रश्मि थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, पूर्व कोषाध्यक्ष प्रकाश पुन, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सरोज दाहालको उपस्थिति रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan