Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीमफेदी दुर्घटनाः चार मृतकको पहिचान खुल्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |

हेटौँडा, २६ कात्तिकः यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी १० जनाको निधन भएको छ । 

दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान इभी दुर्घटनामा परेको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा गाडीका चालक सर्लाहीको कविलासी नगरपालिका–८ का करिब ३० वर्षीय रविशङ्कर कुमार मण्डल, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका चार वर्षीया दीपिका यादव, नौ वर्षीया शिक्षा यादव र विकेश यादव छन् । अन्य छ मृतकको पहिचान खुल्न बाँकी छ ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो । 

घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, आठ वर्षीय सुदीप यादव र बच्चु भनिने देवेन्द्र राय रहेका छन् ।

अस्पतालमा उपचाररत मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाही जाँदै थिए । गाडीमा सवार अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उहाँले बताउनुभयो । 

दुर्घटनाको कारण यकिन नभए पनि चालकले पर्याप्त आराम गर्न नपाएको हुन सक्ने अनुमान गरिएको छ । 

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा एक वर्षभित्र तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै सडक सुरक्षामा तत्काल सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले घुम्तीमा राखिने ऐना, ट्राफिक सङ्केतलगायत सुरक्षा संरचनाको अभाव रहेको औँल्याउँदै आवश्यक सुधारका लागि बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan