Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आलेखः ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | सुदीप राउत/रासस

भद्रपुर (झापा), १३ कात्तिकः हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ । यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ । चारैतिर पुस्तकका पङ्क्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन् । कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन् ।

    तीमध्ये एक हुनुहुन्छ, मेचीनगर–१० का प्रशान्त चौधरी । चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरिरहनुभएका उहाँको विगत एक वर्षदेखि पुस्तकालय आउने–जाने दैनिकी बनेको छ । हरेक दिन आफ्नो ‘कोर्षबुक’ बोकेर पुस्तकालय पुग्ने उहाँ दैनिक चारदेखि पाँच घण्टा यहाँ बिताउनुहुन्छ । पुस्तकालयको शान्त वातावरण उहाँका लागि अध्ययनको आधार बनेको छ ।

    “पुस्तकालयमा शान्त र अध्ययनका लागि उपयुक्त वातावरण छ । घरमाभन्दा यहाँ बसेर पढ्दा बढी एकाग्र हुन सकिन्छ । चारैतिर पुस्तक देख्दा पनि पढ्न प्रेरणा मिल्छ”, चौधरी भन्नुहुन्छ, “त्यसैले आफ्नो कोर्षबुक बोकेर दैनिक चारदेखि पाँच घण्टा यहाँ अध्ययन गर्ने गरेको छु । सीए अध्ययनका लागि नियमित अभ्यास र एकाग्रता आवश्यकपर्ने भएकाले पुस्तकालय मेरो अध्ययनको राम्रो थलो बनेको छ ।”

    उहाँजस्तै मेचीनगर–९ की यमुना तिम्सिना पनि अध्ययनका लागि केही दिनयता नियमित पुस्तकालय आउन थाल्नुभएको छ । अध्ययनका लागि अनुकूल वातावरण खोज्दै पुस्तकालय पुग्ने उहाँ नयाँ पाठकमध्ये एक हुनुहुन्छ । मेचीनगर–१० की डा समीक्षा खड्का भने एमबिबीएस अध्ययन पूरा गरेर चिकित्सकको लाइसेन्स परीक्षाको तयारी गरिरहनुभएको छ । उहाँ दुई महिनादेखि नियमित रूपमा पुस्तकालयमा अध्ययन गर्दै आउनुभएको छ । “घरमा एक्लै पढ्दा कहिलेकाहीँ एकोहोरो लाग्छ । पुस्तकालयमा शान्त वातावरण र पारिवारिक माहोल छ । यहाँ आउँदा मन पनि शान्त हुन्छ र पढाइमा ध्यान दिन सजिलो हुन्छ”, खड्का भन्नुहुन्छ । यी तीनै जना फरक शैक्षिक लक्ष्य बोकेर पुस्तकालय पुग्छन् । उनीहरूका लागि पुस्तकालय केबल पुस्तक पढ्ने ठाउँ मात्र होइन, आफ्नो भविष्य निर्माणका लागि एकाग्र भएर समय बिताउने साझा थलो बनेको छ । पठन संस्कृति कमजोर हुँदै गएको चर्चा भइरहँदा पुस्तक पढ्ने बानी साँच्चै हराउँदै गएको हो वा त्यसका लागि उपयुक्त वातावरण र अवसरको अभाव छ भन्ने प्रश्न पनि उठ्छ । चौधरी भन्नुहुन्छ, “पढ्ने रुचि भएका विद्यार्थीलाई शान्त वातावरण र आवश्यक पुस्तक उपलब्ध गराउन सकियो भने पठन संस्कृतिलाई अझै बलियो बनाउन सकिन्छ । पुस्तकालय त्यसका लागि उपयुक्त थलो हो ।”

    त्रिफला राष्ट्रिय पुस्तकालयकी कर्मचारी चन्द्रकला भट्टराईका अनुसार दैनिक १० देखि १५ जना पाठक नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिदाका दिन कतिपय विद्यालयबाट विद्यार्थीलाई पुस्तकालय भ्रमण गराउने गरिएको छ । “यहाँ दैनिक नियमित रूपमा अध्ययन गर्न आउने पाठक हुनुहुन्छ । लोकसेवाको तयारी गर्ने विद्यार्थी पनि आउनुहुन्छ । विद्यालयबाट विद्यार्थीलाई पुस्तकालयबारे जानकारी दिन र अवलोकन गराउन पनि ल्याउने गरिएको छ”, भट्टराईले भन्नुभयो ।

    पुस्तकालयमा विद्यार्थीको नियमित उपस्थिति र विद्यालयबाट हुने भ्रमणले नयाँ पुस्तालाई पुस्तक तथा पठन संस्कृतिसँग जोड्ने अवसर दिएको छ । अध्ययनका लागि शान्त ठाउँ खोज्ने विद्यार्थी र पुस्तकको संसारसँग परिचित हुन आउने बालबालिका दुवैका लागि पुस्तकालय उपयोगी बनिरहेको छ । विसं २०५३ वैशाख १ गते केही पुस्तकबाट सुरु भएको त्रिफला राष्ट्रिय पुस्तकालयले आफ्नो तीनदशक लामो यात्रामा अहिले ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिका सङ्ग्र्रह भएको संस्थाका रूपमा आफूलाई विकसित गरेको छ । धुलाबारी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको यसको यात्रा भाडाका कोठा हुँदै आफ्नै तीनतले भवनसम्म आइपुगेको हो ।

    पुस्तकालयको पहिलो तलामा पुस्तकालय, वाचनालय र कार्यालय छन् । दोस्रो तलामा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सभाहल छ । तेस्रो तलामा साहित्यकार तथा अतिथिका लागि आवासीय कक्ष बनाइएका छन् । यसले पुस्तकालयलाई अध्ययनसँगै साहित्यिक भेटघाट र विचार आदानप्रदानको केन्द्रका रूपमा विकास गरेको छ ।

    पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ पुस्तकालयलाई पुस्तक थुपारेर राख्ने ठाउँमा मात्र सीमित गर्न नहुने बताउनुहुन्छ । “पुस्तकमा ज्ञानको ठूलो भण्डार हुन्छ । त्यसलाई पढ्ने, बुझ्ने र नयाँ पुस्तासम्म पु¥याउने वातावरण बनाउनुपर्छ । पुस्तकालयको उद्देश्य पुस्तक सुरक्षित राख्नुमात्रै होइन, मानिसमा पढ्ने बानीको विकास गर्नु पनि हो”, उहाँले भन्नुभयो ।

सीमापारिका नेपाली स्रष्टाको साझा थलो

    त्रिफला राष्ट्रिय पुस्तकालयको पहिचान विद्यार्थीको अध्ययनमा मात्र सीमित छैन । पूर्वी नेपालका साहित्यकारको जमघट हुने थलोका रूपमा यसको छुट्टै महत्व छ । भारतको दार्जिलिङ, सिक्किम, आसाम र मणिपुरसम्मका नेपाली भाषी स्रष्टाका कृति यहाँ सङ्ग्र्रहित छन् । विदेशमा रहेका नेपाली साहित्यकार तथा शुभचिन्तकले आफ्ना प्रकाशित पुस्तकसमेत पुस्तकालयमा पठाउने गरेका छन् । यसले भौगोलिक दूरीका कारण टाढा रहेका नेपालीभाषी लेखक, पाठक र साहित्यिक समुदायलाई एउटै साझा थलोमा जोडेको छ । यहाँ सङ्ग्र्रहित कृति नेपाली भाषा, साहित्य र संस्कृतिसम्बन्धी अध्ययनका लागि उपयोगी स्रोत बनेका छन् ।

    साहित्यकार तथा पत्रकार देवेन्द्रकिशोर ढङ्गानाका अनुसार त्रिफला पुस्तकालय पछिल्लो समय साहित्य, कला र सङ्गीतको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । “पुस्तक पढ्नु भनेको ज्ञानको दायरा फराकिलो बनाउनु हो । त्रिफलाले पुस्तक सङ्ग्रह गर्ने कामसँगै साहित्यकारलाई भेटघाट गर्ने, विचार आदानप्रदान गर्ने र सिर्जनाबारे छलफल गर्ने ठाउँ दिएको छ । पुस्तकालयको यस्तो भूमिका पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण छ”, ढुङ्गाना भन्नुहुन्छ । पुस्तकालयमा नियमित अध्ययन गर्ने विद्यार्थी र साहित्यिक कार्यक्रममा सहभागी हुने स्रष्टाका उद्देश्य फरक छन् तर दुवैलाई जोड्ने साझा माध्यम पुस्तक र ज्ञानप्रतिको रुचि हो । यस अर्थमा त्रिफला अध्ययन र सिर्जनाबीचको सम्बन्ध जोड्ने साझा चौतारी बनेको छ ।

एक व्यक्तिको सङ्कल्प, हजारौँको साथ

    त्रिफला राष्ट्रिय पुस्तकालयको आजको स्वरूप पछाडि संस्थापक प्रेमप्रकाश पोखरेल ‘फलाहारी’को लामो सङ्घर्ष र सयौँ दाताको योगदान जोडिएको छ । सामान्य परिवारमा जन्मिनुभएका फलाहारीले नुन, अन्न र जुत्ताचप्पल त्यागेर गेरुवा बस्त्र धारण गरेपछि पुस्तकालय स्थापनाका लागि सहयोग जुटाउन देशका विभिन्न ठाउँमा पैदलयात्रा गर्नुभएको थियो ।

    सुरुका दिनमा उहाँको अभियानलाई समाजका सबैले सहज रूपमा स्वीकार गरेका थिएनन् । कसैले असामान्य ठाने, कसैले आलोचना गरे । तर, उहाँले पुस्तकालय स्थापनाको लक्ष्य छाड्नुभएन । पुस्तक र ज्ञानको महत्व बुझाउँदै सहयोग जुटाउने प्रयास निरन्तर अघि बढाउनुभयो । पुराना दिन सम्झँदै फलाहारी भन्नुहुन्छ, “सुरुका दिनमा पुस्तकालय बनाउने काम सजिलो थिएन । धेरै ठाउँमा पुग्नुप र्‍यो, सहयोग माग्नुपर्‍यो र विभिन्न कठिनाइ सामना गर्नुपर्‍यो । तर, ज्ञान सबैका लागि आवश्यक छ भन्ने विश्वासले यो काम निरन्तर अघि बढाएँ ।”

    स्थानीय जग्गादाता, साहित्यकार, समाजसेवी तथा पुस्तकप्रेमीको सहयोगले पुस्तकालयले क्रमशः आफ्नै जग्गा र भवन प्राप्त ग¥यो । स्थानीय छत्रबहादुर बस्नेत र देवेन्द्रविक्रम नेम्वाङलगायतले जग्गा उपलब्ध गराउन सहयोग गर्नुभयो भने विभिन्न दाताले पुस्तक र आर्थिक सहयोग प्रदान गरे । पुस्तकालयका संस्थापक तथा आजीवन सदस्यको सङ्ख्या एक हजारभन्दा बढी र साधारण सदस्य पाँच हजारभन्दा बढी रहेको फलाहारी बताउनुहुन्छ । “कसैले जग्गा दिनुभयो, कसैले पुस्तक दिनुभयो, कसैले आर्थिक सहयोग गर्नुभयो । धेरै व्यक्तिको सहयोग र विश्वास नभएको भए पुस्तकालय आजको अवस्थामा पुग्नसक्ने थिएन,” उहाँ भन्नुहुन्छ ।

    फलाहारीको व्यक्तिगत सङ्कल्पबाट सुरु भएको अभियान आज सामूहिक ज्ञानसम्पत्तिका रूपमा विकसित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७७ सालमा देशकै उत्कृष्ट पुस्तकालयको सम्मान प्राप्त गर्नु पनि यसको यात्राको महत्त्वपूर्ण उपलब्धि हो ।

संरक्षणको चुनौती

    पुस्तकालयको विकाससँगै यसको दीर्घकालीन संरक्षणको प्रश्न पनि महत्वपूर्ण बनेको छ । पचास हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकालाई व्यवस्थित राख्न, सूचीकरण गर्न र पुराना कृतिलाई सुरक्षित गर्न दक्ष जनशक्ति तथा पर्याप्त आर्थिक स्रोत आवश्यक पर्छ । कोशी प्रदेश सरकारबाट प्राप्त अनुदानपछि पुस्तकको ‘बाइन्डिङ’ र ‘क्याटलगिङ’को काम सुरु गरिए पनि सबै पुस्तक व्यवस्थित गर्न अझै धेरै काम बाँकी छ । 

    फलाहारी भन्नुहुन्छ, “पुस्तकालयमा धेरै पुराना र दुर्लभ पुस्तक छन् । तिनलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो । त्यसका लागि दक्ष कर्मचारी, आर्थिक स्रोत र व्यवस्थित संरक्षण प्रणाली आवश्यक छ ।” उहाँले स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । भविष्यमा पुस्तकालयको भवन विस्तार गरी व्यवस्थित वाचनालय र सङ्ग्रहालयसमेत स्थापना गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसले अध्ययन, अनुसन्धान, पुस्तक संरक्षण र ज्ञानसम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउनसक्ने उहाँको अपेक्षा छ ।

    पुस्तकालयको क्षेत्रगत विकासका लागि कोशी प्रदेश पुस्तकालय सङ्घ नेपालले पनि भूमिका खेलिरहेको छ । सङ्घका सल्लाहकार उद्धव विष्टका अनुसार पुस्तकालयलाई ज्ञान र सीपको खुला केन्द्रका रूपमा विकास गर्न आवश्यक छ । “पुस्तकालय भनेको पुस्तक राख्ने ठाउँ मात्रै होइन, ज्ञान र सीप हासिल गर्ने साझा केन्द्र हो । 
    
    पुस्तकालयलाई जीवन्त राख्न समुदायको सहभागिता, नियमित पठन गतिविधि र संस्थागत सहयोग आवश्यक हुन्छ”, विष्टले भन्नुभयो ।

    सङ्घकी कोषाध्यक्ष राधा घिमिरे पनि पुस्तकालयको दिगो विकास र पठन संस्कृतिको विस्तारमा पुस्तकालय क्षेत्रका संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ । “पुस्तकालयलाई व्यवस्थित बनाउने र नयाँ पुस्तालाई पुस्तकसँग जोड्ने कामलाई प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो । 

    त्रिफला राष्ट्रिय पुस्तकालयको कथा केबल भवन निर्माण, पुस्तक सङ्कलन वा सम्मान प्राप्तिको कथा होइन । यो ज्ञानप्रतिको समर्पण, सामूहिक सहयोग र पठन संस्कृतिलाई जीवित राख्ने प्रयासको कथा पनि हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan