Friday 23rd of October | २०८३ कार्तिक ७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ७ शुक्रबार | रासस

मुस्ताङ, ६ कात्तिकः लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

    समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन् । यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ ।
    गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन् । उक्त पदमार्गको थोरङ फेदी माथिको पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छाएर आवागमन सहज पारिएको थियो ।     मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर थोरङला पास पहुँचमार्गको हिउँ पन्छाएर राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको पदमार्ग सहज बनाइएको थियो ।
    बर्सेनि दुई सिजन चल्ने पदमार्ग विदेशी पर्यटक अङ्ग्रेजी वषएको मे, जुन र जुलाइमा पदयात्रा गर्ने गर्छन् । एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले हिउँदयाम अघिको अक्टोबर र नोभेम्बरमा पनि उल्लेख्य विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आउने गरेको जनाउनुभयो । 

    थोरङ पास पदमार्ग हिउँ सफा गरेपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक मुस्ताङ आइपुगेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाइ छ ।
 
    मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गर्ने सिजन सुरु भएकाले विदेशी पर्यटकको मनाङबाट आउने सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो ।  

    पर्यटकीय यामको सुरुआती समयमै थोरङला पास क्षेत्रमा भारी हिमपात हुँदा उक्त पदमार्ग अवरुद्ध हुन पुगेको थियो । अध्यक्ष गुरुङका अनुसार मनाङ र मुस्ताङका पर्यटन व्यवसायी र सुरक्षाकर्मीले दुईतर्फी पदमार्गको हिउँ पन्छाइएपछि मनाङबाट मुस्ताङ प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
 
    अध्यक्ष गुरुङका अनुसार थोरङला पास हुँदै दैनिक सय बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन् ।
    बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटक घटे पनि थोरङला पास गरी आउने विदेशी पर्यटकको उपस्थितिले मुक्तिनाथका धेरैजसो होटलमा पर्यटक भरिन थालेको उहाँको भनाइ छ ।  

    यस वर्षको नोभेम्बर अन्तिमसम्म मनाङबाट थोरङला पासगरी विदेशी पर्यटक मुस्ताङ आउने सिजन भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan